विशेषज्ञ स्वास्थ्य शिविरमा एक सय ८६ जना लाभान्वित

शनिबार, १३ मंसिर, २०८२
डिजिटल संस्करण

जिल्ला अस्पताल संखुवासभाले आयोजना गरेको विशेषज्ञ स्वास्थ्य शिविरमा एक सय ८६ जना लाभान्वित भएका छन्। शुक्रबार संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको जिल्ला अस्पतालले विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरेको हो। उक्त शिविरमा छालासम्बन्धी ७४ जना, नाक, कान, घाँटीसम्बन्धी ८२ जना र नशा तथा मानसिक रोगसम्बन्धी ३० जना गरी कुल एक सय ८६ जना लाभान्वित भएको जिल्ला अस्पताल संखुवासभाका जनस्वास्थ्य निरीक्षक दीपेश श्रेष्ठले बताए। शिविरले धेरै रोगीहरूलाई राहत मिलेको उनले बताए।

शिविरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव तथा वरिष्ठ नशा तथा मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेल, कोशी अस्पताल विराटनगरका नाक, कान घाँटी रोग विशेषज्ञ डा. रौनक दाहाल र कोशी अस्पताल विराटनगरका छाला रोग विशेषज्ञ डा. असित घिमिरेले चेकजाँच गरेका थिए। उक्त शिविरका जिल्लाका विभिन्न ग्रामीण भेगका साथै छिमेकी जिल्ला भोजपुर र धनकुटालगायतका मानिसहरू स्वास्थ्यमा उपचारका लागि आएका थिए। उक्त विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सशुल्क आयोजना गरेको हो, तर शिविरमा धेरै जति रोगको स्वास्थ बिमा मिल्ने गरी उपचारमा सहयोग गरेको अस्पतालले जनाएको छ। 

स्थानीयले यस्ता विशेषज्ञ स्वास्थ्य शिविर जिल्ला अस्पतालले वेला–वेला खाँदबारीमा नै आयोजना गरिरहे हजारौँ रुपैयाँ खर्चेर धरान, विराटनगर र काठमाडौं जान नपर्ने बताउँछन्।

    

सुझावित समाचार