इमेज सहकारीपीडित पुनः आन्दोलनमा

आइतबार, ३० कार्तिक, २०८२
डिजिटल संस्करण
इमेज सहकारीपीडित पुनः आन्दोलनमा

सहकारीपीडितले आइतबार निकाले र्याली । तस्बिरः नयाँ पत्रिका

बागलुङका सहकारीपीडितहरू पुनः आन्दोलनमा उत्रिएका छन् । बागलुङ बजारस्थित इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ता आजदेखि पुनः आन्दोलित बनेका हुन् । 

ढोरपाटन नगरपालिकाका नगरप्रमुख समेत रहेका देवुकमार नेपाली अध्यक्ष एवं संस्थापक रहेको इमेत सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएका पीडितहरू आन्दोलित भएका हुन् । सहकारीपीडित संघर्ष समितिको आह्वानमा उनीहरूले बागलुङ बजारमा नाराबाजीसहित प्रदर्शन गरेका छन् । 

इमेज सहकारीपीडित र देवकुमार नेपालीबिच बचत फिर्ता गर्ने सहमति हुनेक्रममा सहकारी माफिया र लुटेराको प्रवेशले बचतकर्ता थप पीडित बनेको आरोप छ । अब आन्दोलनमार्फत उनीहरूको भण्डफोर गर्ने इमेज सहकारीपीडित संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले चेतावनी दिए । ‘देवकुमार नेपालीले आफ्नो चलअचल सम्पत्तिबाट बचतकर्ताको रकम फिर्ता गर्छु भनेका थिए,’ कार्कीले भने, ‘त्यत्रो घरजग्गा कसै न कसैले त लिन प¥यो भन्ने कुरा भयो । त्यही बेलामा बैंकले लिलामको सूचना निकाल्यो । बागलुङ नगरपालिका–११ रायडाँडाका रामबहादुर केसी र उनकी श्रीमती गोमादेवी केसीले घर जग्गा लिने निधो गरेछन् । उनीहरूले अर्को एकजना आफन्तसँग मिलेर लिलाम सकार्ने र बचतकर्ताको पैसा फिर्ता गर्नेगरी देवकुमारसँग कागज गरेका थिए । अहिले बचतकर्तालाई रकम फिर्ता गर्ने बेला उनीहरू भागेर अमेरिका पुगेका छन् ।’ 

७० करोडको सम्पत्ति २२ करोडमा 
करिब ७० करोडको सम्पत्ति (घर जग्गा) २२ करोडमा किनेर बाँकी रकम पीडितलाई फिर्ता दिने गरी सम्झौताको कागज गरे पनि पीडितको रकम नदिएर केसी दम्पतिले दुःख दिएको कार्कीको आरोप छ । ‘रामबहादुर केसी र गोमा केसीले बैंकको लिलामी सकारेपछि बाँकी सम्पत्तिको मूल्य बराबर पीडितलाई फिर्ता गर्ने कागज भएको छ,’ उनी भन्छन्, ‘७० करोडको सम्पत्ति उनीहरूले २२÷२३ करोडमा लिएका छन् । उनीहरूले रकम फिर्ता गर्ने आशमा हामीले कोरा कागजमा हस्ताक्षर गरेर मिलापत्र गर्न सुरु गर्याैं । अहिलेसम्म ९३ प्रतिशतले मिलापत्र गरिसक्दा रकम दिनुपर्ने मान्छे भागेर अमेरिका गयो ।’ केसी परिवारले बागलुङ बजारको हल्लनचोकमा रहेको घरजग्गा लिएका हुन् । 

एक हजार पाँच सय ७४ जना पीडित
बागलुङमा एक हजार पाँच सय ७४ जना पीडितले उजुरी गरेकोमा एक हजार चार सय ६९ जनाले मिलापत्र गरिसकेको तर रकम फिर्ता पाएका छैनन । भागेर अमेरिका पुगेपछि मैले बैंकबाट सकारेको हो । मैले किन तिर्ने भन्ने गरेको र उल्टो पीडितले बन्द गराएको घरको क्षतिपूर्ति माग गर्दै मुद्दा लगाउने काम भएको कार्कीले बताए । ‘पीडितलाई दिनुपर्ने रकम नदिएर अमेरिका भागेपछि हामीले यहाँ घर बन्द गराएका छौं, अहिले घरको क्षतिपूर्ति चाहिन्छ भनेर मुद्दा हाल्ने काम भएको छ,’ उनले भने, ‘माफियाका कारण पीडितले दुःखमाथि झन् दुःख पाउनु परेको छ । माफियालाई कारबाही हुनुपर्छ पीडितले बचत फिर्ता पाउनुपर्छ ।’

यस विषयमा स्वयं देवकुमार नेपालीले रामबहादुर केसीले सहमतिअनुसार काम नगरेको भन्दै सरकारी वकिल कार्यालयमा दिएको निवेदन तामेलीमा राखिएको बताए । ‘रामबहादुर र उसको श्रीमतीले गरेको बदमासी बारे देवकुमार नेपालीले नै सहमतिपत्रको कपीसहित सरकारी वकिल कार्यालयमा निवेदन दिएका छन् । त्यसलाई अगाडि बढाउने काम भएको छैन । ‘सहकारी माफियाको प्रभावमा काम अगाडि नबढेको हो भने हामी अझ सशक्त आन्दोलनमा उत्रन्छौं,’ उनले भने । माफियाले दिएको दिएको पीडाका कारण अहिलेसम्म चारजना बचतकर्ताले ज्यान गुमाउनु परेको उनले बताए ।

सहकारीकै तनाबका कारण पीडितको ज्यान गयो
‘एक करोडभन्दा बढी बचत गरेका तनबहादुर कार्कीको हृदयघातका कारण भयो, जीवनभर हुलाकी गरेका कर्णबहादुर कार्कीको यसैको पीडाले ज्यान गयो,’ उनले भने, ‘मिनाकुमारी रेग्मीले पैसा नपाउँदा औषधि गर्न सक्नुभएन र जितबहादुर किसानको रकम फिर्ता आउने आशैआशमा हृदयघात भएर ज्यान गयो । माफियाहरू यसरी ज्यानमारा भएका छन्,’ संयोजक कार्कीले भने।

पीडितहरूले नाराबाजीसहित बागलुङ बजार परिक्रमा गरेका थिए । सहकारी ठगीमा पूर्वपक्षका लागि थुनामा रहेका ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको समेत मुद्दा थपिएपछि झन् अन्योल बढेको छ ।

नेपालीविरुद्ध एक अर्ब ५८ करोड बिगो दाबी 
जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले नेपालीविरुद्ध एक अर्ब ५८ करोड बिगो दाबी गर्दै सम्पत्ति सुद्धीकरणको मुद्दा दायर गरेको छ । देवकुमार पत्नी छेला नेपालीविरुद्ध ६ करोड ९८ लाख मागदाबी गरिएको मुद्दा परेको छ । प्रहरीले पहिले नै सम्पत्ति सुद्धीकरण मुद्दा चलाउन सुझाए पनि राजनीतिक पहुँचको आडमा मुद्दा अगाडि बढेको थिएन । जेन–जी आन्दोलनले नयाँ सरकार गठनपछि गत २३ असोजमा नेपाली दम्पत्तीविरुद्ध सम्पत्ति सुद्धीकरणको मुद्दा चलाइएको हो । 
सहकारी ठगी छानबिन प्रतिवेदन र प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी तीनवटै मुद्दा चलाउन सिफारिस गरे पनि यसअघि सहकारी ठगीमा मात्र मुद्दा दर्ता गरिएको थियो ।

सहकारीको रकम ठगी गरी ४ जेठ ०८० देखि फरार नेपाली एक वर्षपछि ११ असोज ०८१ मा भारतमा पक्राउ परेका थिए । 

सुझावित समाचार