पाँचौँ अन्तरस्कुल प्रतियोगिताः फुटसलमा चेल्सीको वर्चस्व, बास्केटबलमा मिस्रित नतिजा

आइतबार, ३० कार्तिक, २०८२
डिजिटल संस्करण

पाँचौँ अन्तरस्कुल फुटसल तथा बास्केटबल प्रतियोगितामा आयोजक चेल्सी वर्ल्ड स्कुलले वर्चस्व बनाएको छ। २४ कार्तिकबाट सुरु भएको प्रतियोगितामा फुटसल र बास्केटबलका सबै पाँच विधाको च्याम्पियनको टुंगो लागेको हो। 

लिगकम नकाउट प्रणालीमा खेलाइएको ६ दिने प्रतियोगिता बास्केटबलमा ३ विधा र फुटसलमा दुई विधा समावेश थिए। प्रतियोगितामा काठमाडौं उपत्यकाका तीनै जिल्लाबाट ३३ स्कुलको सहभागिता थियो। च्याम्पियन टोलीले ट्रफी र मेडल हात पार्दा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले इन्डिभिजुअल अवार्ड पनि हात पारे। 

बास्केटबलमा ३ बाई ३ बोइजमा सहभागिता १६ टोलीमध्ये फाइनलमा टिआइए र निम्स पुगेका थिए। जसमा १८–२० को अन्तरले टिआइए च्याम्पियन बन्यो। शिक्षकको पनि ३ बाइ ३ विधा समावेश थियो। यसमा चेल्सीलाई पछि पार्दै मातृभूमि स्कुल ८–१४ ले विजयी भयो। त्यस्तै, छात्रातर्फ ५ बाई ५ मा १२ टोली सहभागी भएको विधामा चाँदबाग स्कुल र निम्स फाइनलमा भिडेका थिए। यसमा ३३–२१ अन्तरले निम्स विजयी भएको प्रतियोगिता संयोजक राजन न्यौपानेले जानकारी दिए।

फुटसलमा यू–१० र यू–१४ गरी दुईवटा विधा समावेश थिए। यू–१४ मा १६ टोली सहभागी भएकोमा चेल्सी वर्ल्ड स्कुल र रिलायन्स इन्टरनेसन स्कुल फाइनलमा आमनेसामने भएका थिए। यसमा चेल्सीले पेनाल्टी सुटआउटमा जित निकाल्न सफल भयो। रोमाञ्चक खेलको निर्धारित समय २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा ६–५ गोलअन्तरले चेल्सी विजयी भयो।

यू–१० तर्फ फाइनलमा चेल्सी र प्रिमियर आइबी वर्ल्ड स्कुलले खेलेका थिए। यसमा चेल्सी ४–२ गोलअन्तरले विजयी बन्यो। विजेता टोलीलाई चेल्सी वर्ल्ड स्कुलकी प्रिन्सिपल छाम्बा डोल्मालगायत प्रमुख अतिथि नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक नवीन न्यौपाने र बास्केटबल महिला टोलीका प्रशिक्षक विकास शाहीले बास्केटबलको  पुरस्कार वितरण गरे।

सुझावित समाचार