गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारदेखि सुरु हुन गइरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिगको (एनपिएल) को सुरक्षा व्यवस्थाबारे चासो लिएका छन्। आइतबार एनपिएलको सुरक्षा प्रवन्ध र अन्तिम तयारीबारे ब्रिफिङ लिएर निर्देशन दिएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित काठमाडौं प्रहरी प्रमुख रमेश थापासँग एनपिएलको सुरक्षा तयारीबारे जानकारी लिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
गृहमन्त्रीको सचिवालयको अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवान्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिएका छन् । 'पहिलोपटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरुरी भएकोले सोहीअनुसार प्रबन्ध मिलाउन हुन निर्देशन गर्दछु,' मन्त्री अर्यालले बैठकमा भने ।
सुरक्षा व्यवस्थापनबारे क्रिकेट संघले प्रहरीसँग राम्रो समन्वय नगरेको प्रहरी अधिकारी बताउँछन्।
उता, आइतबार उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख ओम अधिकारी नेतृत्वको प्रहरी टोली क्रिकेट मैदानमै पुगेर सुरक्षा व्यवस्थाबारे छलफल गरेको छ।