प्रदेश सभाको बैठकको झल्को दिने गरी उपसभामुखले गरिन् सांसदहरूसँग भेट

शनिबार, २९ कार्तिक, २०८२
डिजिटल संस्करण

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको भन्दै दर्ता गरिएको प्रस्तावबारे नेपाली कांग्रेससहित सात दलले उपसभामुखसँग जानकारी मागेका छन्।

आफ्ना दर्ता गराएका प्रस्तावबारे जानकारी लिन आज शनिबार दिउँसो उनीहरू नारा जुलुससहित प्रदेश सभामा पुगेका थिए। प्रदेश सभा सचिवालय बन्द भएको कारण उनीहरूले प्रदेश सभापरिसरमै धर्ना दिएका थिए। उपसभामुख बबिता राउत धर्नास्थलमा पुग्नुअघि नै त्यहाँ टेबल र कुर्सी राखिएको थियो। प्रदेश सभा सञ्चालनको क्रममा उपसभामुखले कुर्सीमा बसेर सांसदहरूको कुरा सुनेकी थिइन्।

लोसपा सांसद उपेन्द्र महतोले उक्त प्रस्तावबारे बुझ्न आफू प्रदेश सभापरिसरमा पुगेको बताए। आएकी उपसभामुखलाई नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले सभामुख मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको जानकारी दिँदै सो प्रस्ताव अघि बढाउन आग्रह गरे। उनका अनुसार सभामुखले प्रभावमा परेर निष्पक्षता र पदअनुरूपको व्यवहार देखाउन नसकेकाले प्रस्ताव दर्ता गरिएको हो।

सांसदहरूको कुरा सुनेपछि उपसभामुखले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसदहरूले सभामुखविरुद्ध प्रस्ताव दर्ता गर्नु सांसदहरूको अधिकार भएको तर सांसदमाथि भएको हातपात र कुटपिट दुःखद भएको बताइन्। उनले सभामुख मण्डलको नियत स्पष्ट नदेखिएको उल्लेख गर्दै प्रदेश प्रमुखलाई वर्तमान राजनीतिक जटिलताको समाधानमा पहल गर्न आग्रह गरिन्।

यसैबिच, जनकपुरस्थित मत्स्यपालन केन्द्रअगाडिको हटियामा भेला भएका सात दलका नेता–कार्यकर्ताले नाराजुलुससहित प्रदेश सभातर्फ र्याली निकाल्न खोजे। तर, प्रदेश सभा क्षेत्रमा कडा सुरक्षा व्यवस्था कायम भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरूलाई बाहिरै रोकिएको थियो। प्रदेशमा देखिएको राजनीतिक समस्या समाधानका लागि प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले सर्वदलीय बैठक आह्वान गरेका छन्।

सुझावित समाचार