प्रहरीका अनुसार होप र एन्जल आइभिएफ क्लिनिकले सुरुमा बिचौलियामार्फत १६ देखि १९ वर्षका स्वस्थ किशोरी पहिचान गर्थे । आर्थिक अवस्था कमजोर भएका किशोरी उनीहरूको छनोटमा पर्थे । आर्थिक प्रलोभन देखाएर डिम्ब दानका लागि प्रेरित गर्थे । किशोरी तयार भएपछि महिनावारी सकिएको तीन दिनपछि बिचौलियामार्फत क्लिनिक पुर्याइन्थ्यो । स्वेच्छाले नै डिम्ब दान गरेको भन्ने व्यहोराको सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाउँथे ।
त्यसपछि किशोरीलाई इन्जेक्सन दिएर घर पठाइदिन्थे । यो क्रम १० दिनसम्म निरन्तर चल्थ्यो । १० वटा इन्जेक्सनको डोज पुगेपछि केही समय आराम गर्न लगाएर डिम्ब झिक्ने प्रक्रिया सुरु गर्थे । उनीहरूलाई बेहोस बनाएर पाठेघरबाट डिम्ब झिक्थे । उक्त डिम्ब अर्को बेडबाट रिसिभ गर्न बसेकी महिलाको पाठेघरमा लगेर प्रत्यारोपण गर्थे । डिम्ब प्राप्त गर्ने महिलासँग २० लाखसम्म असुलेर क्लिनिकले डिम्ब दान गर्ने किशोरीलाई भने १० हजारसम्म दिएर बिदा गर्थे ।
प्रहरीका अनुसार डिम्ब दानपछि पनि किशोरीको भूमिका पूरा हुँदैनथ्यो । त्यस्ता किशोरीलाई आफूजस्तै अरू खोजी गर्न प्रेरित गरिन्थ्यो । त्यसबापत पनि आर्थिक प्रलोभन दिएका थिए । यसैगरी क्लिनिकले किशोरीहरू जम्मा गर्थे । पक्राउ परेका जस्टिना र सविना सोहीमध्येका हुन् ।
पीडित बालिकाहरूमाथि महान्यायाधिवक्ता भण्डारीको उल्टै लाञ्छना– उनीहरू कन्ट्रोलभन्दा बाहिरका बच्चा हुन्
मैले यो विषयमा मुद्दा नचलाउन भनेको होइन । जहाँ मेरो पनि संलग्नता (छोरी सञ्चालक) छ, त्यसलाई हेर्दिनँ भनेकी थिएँ । यस सम्बन्धमा न्यायाधीश, सरकारी वकिलहरूलाई ‘तपाईंहरूले जे देख्नुभएको छ, त्यही गर्नुस्’ भनेकी छु । मैले दिएका आदेश ठिक लाग्दैन भने नगर्नुस् भनेकी छु । आफ्नै केसको सम्बन्धमा मैले हस्तक्षेप गर्ने कुरै आउँदैन । मैले अहिलेसम्म निष्पक्ष वकालत गरेँ । पैसा नै कमाउनु थियो भने जे पनि गर्थेँ होला । दुई बच्चाको अन्डा निकालेर तस्करी नै गर्नुपर्दैन । ती बच्चाहरूले उल्टै हामीलाई झुक्याएका छन् । उनीहरू कन्ट्रोलभन्दा बाहिरकै बच्चा हुन् । सिआइबीले बयान लिने क्रममा म उनीहरूसँगै गएकी थिएँ । त्यतिवेलै मैले ‘आफैँ यस्तो गरेर हिँड्ने अनि अरूलाई दोष दिएर हुन्छ ?’ भनेकी थिएँ । उनीहरू डराएका थिए । जसले त्यतिवेला नाबालक भनेको छ, ऊ एक महिनापछि १८ वर्षको भएको छ । म अहिले पदमा भएकाले बाँधिएकी छु । हिजो त एटोर्नी जनरल (महान्यायाधिवक्ता)को अफिस नै छाडिदिऊँ झैँ लागेको थियो । यो पदको बदनाम गराउन चाहन्न । बाहिर आएँ भने उल्टै मुद्दा हाल्न सक्छु ।