तनहुँको हैरान्स क्लबले एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ । शनिबार हेटौडाको गौरीटार रंगशालामा हैरान्सले दोलखाको टाइगर्स टिमबिरुद्ध ५–२ को जित निकाल्यो । अर्काे खेलमा सुर्खेतको काक्रेबिहार र बाराको नवजागृतिले बराबरी खेल्दै अंक बाँढेका छन् ।
पहिलो खेलमा हैरान्स सुर्खेतको काक्रेबिहारसँग पराजित भएको थियो । दोस्रो खेलमा हैरान्सका खेलाडी आक्रमकरुपमा प्रस्तुत हुँदै जित निकाल्न सफल भएका थिए । पहिलो हाफमै हैरान्सका रोशन दोङले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे । उनले खेलको २५ औं र ३२ औं मिनेटमा गोल गरेका हुन् । दोस्रो हाफमा पनि हैरान्सले आफ्नो लय कायम राख्यो । थप तीन गोल गरेका थियो । खेलको ४८औँ मिनेटमा समीराज थोकरले तेस्रो, विश्व लामाले ४९औँ मिनेटमा चौथो र अनिष महर्जनले ८८औँ मिनेटमा पाँचौँ गोल गर्दै टिमको जित सुनिश्चित गरेका थिए । यता टाइगर्सका लागि विशेष लामाले ६२औँ र ६६औँ मिनेटमा गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।
हैरान्सका रोशन दोङ प्लेयर अफ दी म्याच घोषित भए । लिगमा समान २ खेल खेलेको टाइगर्सले पहिलो हार बेहोरेको हो । यसअघि बिहीवार भएको खेलमा टाइगर्सले उदयपुरको गाईघाट फुटबल क्लबलाई २–१ गोलले हराएको थियो ।
काँक्रेबिहार र जागृतिको बराबरी
सुर्खेतको काँक्रेबिहार र बाराको नव जागृतिले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको सुरुवातबाटै दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए । काँक्रेबिहारले खेलको ३८औँ मिनेटमा आशिष चापागाईंको गोलबाट अग्रता लियो । आशिषले नव जागृतिको डिफेन्सलाई छक्याउँदै गोल गर्न सफल भएका थिए । तर, त्यसको केही मिनेटमै खेल जागृतिले खेल बराबरीमा ल्यायो । पहिलो हाफको अतिरिक्त समयमा रुजन न्यौपानेले गोल गरेका हुन् । दोस्रो हाफमा दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । बराबरीसँगै दुवै टोलीले लिग अंकतालिकामा एक–एक अंक बाँडेका छन् ।
लिगमा दुई खेल खेलिसकेको जागृति अहिलेसम्म जितविहीन छ । जागृति यसअघि शुक्रबार धनकुटाको देउराली युथ क्लबसँग ३–१ गोलले पराजित भएको थियो । यस्तै, लिगमा दुई खेल नै खेलेको काँक्रेबिहारले पहिलो खेलमा हैरान्सलाई पराजित गरेको थियो । लिग कम नकआउट आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगिता २ मंसिरसम्म सञ्चालन हुनेछ ।