२५ दिनमै ढल्यो मधेशमा सरकार

जेन–जी आन्दोलनपछि पनि दलहरू प्रदेशको सत्तासमीकरणको खेलमै, परिवर्तनको नारा सत्ता अंकगणितमै सीमित

आइतबार, २३ कार्तिक, २०८२
डिजिटल संस्करण

कांग्रेस–एमाले गठबन्धन पन्छाउँदै साना दलको सहयोगमा गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जितेन्द्रप्रसाद सोनार (सोनल) नेतृत्वको मधेश प्रदेशको सरकार २५ दिनमै ढलेको छ । सदनमा विश्वासको मत हासिल हुने सम्भावना कमजोर देखिएपछि शनिबार उनले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष बुझाएको राजीनामा स्वीकृत भएको छ ।

तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले २८ असोजमा पदबाट राजीनामा दिएपछि प्रदेश सरकार गठनको आह्वान भएको थियो । त्यसपछि प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोनललाई २९ असोजमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

१० दलको प्रतिनिधित्व रहेको १०७ सदस्यीय प्रदेश सभाका जसपा, जनमत, माओवादी, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका ५७ सांसदको सोनललाई समर्थन थियो । अन्तिम समयमा जनमत ‘युटर्न’ भएपछि सोनल नाटकीय रूपमा मुख्यमन्त्री बनेका थिए । उनी मधेश प्रदेशका चौथो मुख्यमन्त्री बनेका थिए । 

सरकार बचाउन उनलाई संसद्मा ५४ सांसदको समर्थन चाहिन्थ्यो । तर, माओवादीको आन्तरिक विवाद र जनमत विभाजनले मुख्यमन्त्री सोनलले विश्वासको मत सिद्ध गर्न सक्ने अवस्था रहेन । त्यसपछि उनले सदनमा मतदानमा जाने जोखिम लिएनन्, बरु प्रदेश प्रमुखलाई राजीनामा बुझाए । 

शनिबार मुख्यमन्त्री सोनलले प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची तय थियो । मुख्यमन्त्री हुँदा उनलाई जसपाका १९, जनमतका १३, माओवादीका नौ, एकीकृत समाजवादीका सात र लोसपाका आठ सांसदको समर्थन थियो । तर, त्यसपछि विकसित घटनाक्रमले सोनल सरकार विश्वासको मत पाउन नसक्ने अवस्थामा पुगेको हो । 

सोनल मुख्यमन्त्री नियुक्त भएकै दिन जनमत पार्टी विभाजन भई निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन साहले जनस्वराज पार्टी बनाए । सोनलले मुख्यमन्त्रीको शपथ एवं पदभार ग्रहण गरेकै दिन ३० असोजमा जसपा नेपालका सांसद सरोजसिंह कुसवाहविरुद्ध संसदीय क्षेत्र विकास कार्यक्रममा भष्टाचार गरेको भन्दै मुद्दा पर्‍यो । त्यसपछि उनी निलम्बनमा छन् । 

यसरी मुख्यमन्त्री सोनल सरकार गठन भएदेखि नै संकटमा पर्दै आएका थिए । तर, उनले विश्वासको मतका लागि साना दलहरू नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीसहितलाई फकाएर आफ्नो पक्षमा पारेका थिए । सर्वोच्च अदालतले जनमत विभाजन रोकेपछि मुख्यमन्त्री सोनल विश्वासको मत पाउने आशामा थिए । यसैअनुसार उनी आफैँले २२ कात्तिकमा विश्वासको मत लिने घोषणा गरेका थिए । तर, शनिबार नेपाल संघीय समाजवादी पार्टीका सांसद विमला अन्सारी अनुपस्थित भइन् ।

गठबन्धनबिच असन्तुष्टि नबढोस् र सहज विश्वासको मत पाइयोस् भनेर उनले मन्त्रिपरिषद् विस्तार गरेका थिएनन् । ११ मन्त्रालयको जिम्मेवारी आफैँले राखेका थिए । आफूसँगै मन्त्रीका शपथ लिएका दुई मन्त्री जनमतका संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एसका कनिष पटेललाई मुख्यमन्त्री सोनलले विनाविभागीय मन्त्रीमै सीमित गरेका थिए । 

विश्वासको मतका लागि प्रदेश सभाको बैठक दिउँसो १ बजे आह्वान गरिएको थियो । तर, निर्धारित समयभन्दा करिब २ घण्टा ढिलो बैठक सुरु भयो । प्रदेश सभामा आफ्नो पक्षमा ५७ मत रहेकोमा विश्वासको मत पाइनेमा सोनल ढुक्कजस्तै थिए । तर, बैठकमा सत्तापक्षका ५४ सांसद मात्रै सहभागी देखिए । 

५४ सांसदले बहुमत पुग्थ्यो । यसैअनुसार उनले प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राखे । त्यसपछि सभामुखले प्रस्तावमाथि छलफल चलाए । एमालेका प्रमुख सचेतक हरिनारायण महतो र कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने आफ्नो पार्टीको निर्णय सुनाए । जसपा नेपाल, माओवादी, एकीकृत समाजवादी, लोसपाका प्रतिनिधिले विश्वासको मत दिने पार्टी निर्णय सुनाए । 

त्यसपछि माओवादी सांसद तथा पूर्वराज्यमन्त्री रहबर अन्सारीले सभामुखसँग समय मागे । सभामुख रामचन्द्र मण्डलले अन्सारीलाई तीन मिनेटको समय दिए । अन्सारीले आफ्नो पार्टी र अन्य पार्टीका शीर्ष नेताहरूको व्यवहारप्रति आक्रोश व्यक्त गरे । ‘जेन–जी आन्दोलनले देशको अवस्था बदलियो । तर, हाम्रा शीर्ष नेताहरूको चरित्र बदलिएन,’ उनले भने । 

रोस्टममै आफूले आफैँलाई मोसो दले । र, सरकारलाई विश्वासको मत नदिने घोषणा गरे । ‘यो सरकार हाम्रो होइन, काठमाडौंले बनाएको हो । यो सरकारबाट कुनै पनि हालतमा मधेश र मधेशीको कल्याण हुँदैन । जनताले हामीलाई मोसो दले । म आज आफैँ आफ्नो अनुहारमा मेसो दल्दै छु,’ उनले भने, ‘मेरो पार्टीले मलाई के गर्छ, थाहा छैन । तर, म यो सरकार र अर्को कुनै सरकारलाई विश्वासको मत दिन्नँ । मधेशी जनतालाई नयाँ म्यान्डेट चाहिएको छ ।’

सांसद अन्सारीपछि माओवादीकै अर्की सांसद माला कर्णले पनि सरकारलाई आफूले विश्वासको मत नदिने घोषणा गरिन् । माओवादीभित्रको आन्तरिक विवादले प्रदेश सभामै भाँडभैलो भएको थियो ।

संसदीय दलका नेता को हुने भन्नेमा माओवादीमा विवाद थियो । धेरैजसो सांसद संसदीय दलका नेता भारतप्रसाद साहको विरोधमा थिए । असन्तुष्ट प्रदेश सांसदहरूले गत जेठमै प्रचण्डलाई भेटेर विरोध राखेका थिए । त्यसपछि प्रचण्डले साहलाई दलको नेताबाट हटाए । 

तर, माओवादी विभिन्न दलमा एकतामा जाने भएपछि साह पुन: दलकै नेता बने । यसले माओवादीभित्रको असन्तुष्टि फेरि बल्झियो । त्यही असन्तुष्टि प्रदेश सभाको बैठकमा छताछुल्ल भयो र सरकार ढल्ने अवस्थामा पुग्यो । साह माओवादीका पूर्वनेता जनार्दन शर्मानिकट मानिन्छन् । प्रचण्डनिकट सांसदले साहको विरोध गरे ।
शनिबार सदनमा बहुमत जुटाउन नसकिने देखेपछि मुख्यमन्त्री सोनलले सभामुख मण्डलसँग बैठक प्रक्रिया रोक्न आग्रह गरे । तर, सभामुख मण्डलले मतविभाजनको प्रक्रिया सुरु भइसकेकाले रोक्न नमिल्ने बताए ।

त्यसपछि मुख्यमन्त्री सोनल र विनाविभागीय मन्त्रीद्वय महेशप्रसाद यादव र कनिष पटेल सभा हलबाट बाहिर निस्के । सभामुखले बैठक अगाडि बढाउन खोज्दा सत्तापक्षका सांसदले ‘सभामा सरकारको प्रतिनिधि नरहेकाले बैठक स्थगित गर्न’ माग गरे । त्यसपछि सभामुखले १० मिनेटका लागि सभाको बैठक स्थगित गरे । 

१० मिनेटका लागि स्थगित बैठक झन्डै एक घण्टापछि सभामुखले सुरु गरे । मतविभाजनका लागि पक्ष र विपक्षका सांसदहरूलाई पुन: रुलिङ गरे । सांसदहरू अ–आफ्नो तोकिएको दिशातर्फ जान लाग्दा मुख्यमन्त्री सोनलले पुन: बैठक स्थगित गर्न आग्रह गरे । विपक्षी दल एमाले र कांग्रेसका सांसदले त्यस्तो गर्न नमिल्ने भन्दै विरोध गरे ।

यसले केहीबेर सभामै तनाव देखियो । त्यसपछि सभामुखले पुन: मतविभाजनका लागि रुलिङ गरे । मुख्यमन्त्री सोनल राजीनामा दिएको घोषणा गर्दै सभा बैठकबाट बाहिर निस्के । बाहिर निस्केका मुख्यमन्त्री सोनलले सञ्चारकर्मीसँग कुरा गर्दै सभामुखको भूमिकामाथि प्रश्न उठाए । ‘बहुमत हुदाँहुँदै केही साथी अनुपस्थित भएपछि केही समय बैठक स्थगन गर्न माग गरेका थियौँ, तर सभामुखले सुनेनन् । संघीयता र लोकतन्त्र समाप्त गर्न हाम्रो सरकार असफल बनाइएको छ,’ उनले भने, ‘हामीसँग बहुमत छ, आज सिद्ध हुन सकेन । तर, केहि दिनपछि अवश्य सिद्ध हुन्छ । हामी संघीयता र लोकतन्त्रविरोधी सरकार बन्न दिँदैनाैँ ।’ 

एमाले संसदीय दलका नेता सरोजकुमार यादवले अब नयाँ सरकार गठनको प्रक्रियामा लाग्ने प्रतिक्रिया दिए । ‘अहिलेसम्म प्रदेश प्रमुखबाट नयाँ सरकार गठनका लागि आह्वान भएको छैन । आएपछि त्यसको तयारीमा जुट्छौँ,’ उनले भने । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि प्रदेश प्रमुखबाट आह्वान भएपछि नयाँ सरकार गठनको बाटो खुल्ने बताए ।

बहुमत जुटाउन यसकारण भएन सम्भव 
१० दलको प्रतिनिधित्व रहेको १०७ सदस्यीय प्रदेश सभाका जसपा, जनमत, माओवादी, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका ५७ सांसदको सोनललाई समर्थन थियो । सरकार बचाउन उनलाई संसद्मा ५४ सांसदको समर्थन चाहिन्थ्यो । तर, माओवादीका दुई सांसदले विश्वासको मत नदिने घोषणा गरे र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद अनुपस्थित रहिन् । सोनल सरकार बनेपछि जसपा नेपालका सांसद सरोजसिंह कुसवाह भ्रष्टाचार मुद्दामा निलम्बनमा परे । 

सदनमा विश्वासको मत हासिल हुने सम्भावना कमजोर देखिएपछि राजीनामा दिएका उनले सञ्चारकर्मीसँग भने, ‘बहुमत हुँदाहुँदै केही साथी अनुपस्थित भएपछि केही समय बैठक स्थगन गर्न माग गरेका थियौँ, तर सभामुखले सुनेनन् । संघीयता र लोकतन्त्र समाप्त गर्न हाम्रो सरकार असफल बनाइएको छ । हामीसँग बहुमत छ, आज सिद्ध हुन सकेन । तर, केही दिनपछि अवश्य सिद्ध हुन्छ । हामी संघीयता र लोकतन्त्रविरोधी सरकार बन्न दिँदैनाैँ ।’

प्रदेश सभाको अंकगणित
१०७ सदस्यीय प्रदेश सभामा १० दलको प्रतिनिधित्व छ । सरकार बनाउन ५४ सांसद भए बहुमत पुग्छ । सभामा २५ सिटसहित एमाले पहिलो र २२ सिटसहित कांग्रेस दोस्रो दल हुन् । दुईपटक सरकारको नेतृत्व गर्ने अवसर पाएको जसपा नेपालको १९, जनमत १३, लोसपा र माओवादीको नौ–नौ सिट छ । एमाले र लोसपाका एक–एक सांसद निलम्बित अवस्थामा छन् । एमालेका एक सांसद सभामुख छन् । एकीकृत समाजवादीका सात, नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको एक–एक सिट छ । सोनल सरकार विघटनपछि कांग्रेस–एमाले गठबन्धनको सरकार बनाउने कसरतमा लागिसकेका छन् । ‘अहिलेसम्म प्रदेश प्रमुखबाट नयाँ सरकार गठनका लागि आह्वान भएको छैन । आएपछि त्यसको तयारीमा जुट्छौँ,’ एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भने । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि प्रदेश प्रमुखबाट आह्वान भएपछि नयाँ सरकार गठनको बाटो खुल्ने बताए ।

See More On

सुझावित समाचार