सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले राजीनामा दिएका छन्। मंगलबार पालिकाका उपाध्यक्ष कल्पना चौधरीले राजीनामा स्वीकृत गरी निर्वाचन आयोगलाई जानकारी गराएको पत्र सार्वजनिक भएको छ।
‘म दिनानाथ चौधरी, अग्निसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु,’ राजीनामापत्रमा उल्लेख छ ।
पदमा आवश्यक दक्षता, समय र ऊर्जा दिन नसकेको महसुस आफूले गरेकोले स्वैच्छाले नै अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी उनले पत्रमा उल्लेख गरेका छन्।
उनले पत्रमा लेखेका छन्,–गाउँपालिका अध्यक्षको हैसियतले पाएको अनुभवलाई म जीवनको महत्त्वपूर्ण उपलब्धि ठान्दछु । भविष्यमा पनि समाज र गाउँको सेवामा आफूलाई निरन्तर समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । त्यसैले, मेरो यो राजीनामा स्वीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाइ दिन अनुरोध गर्दछु ।’
उनको राजीनामा मंगलबार स्वीकृत भएको उपाध्यक्ष चौधरीले बताइन्। मंगलबार बसेको कार्यपालिका बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको उनले नयाँ पत्रिकालाई जानकारी दिइन्। राजनीमा स्वीकृत गर्दै उपाध्यक्षले त्यसको पत्रचार निर्वाचन आयोगमा समेत गरेको पत्र सार्वजनिक भएको छ ।