संखुवासभाको चिचिला गाउँपालिका– ४, मत्स्यपोखरीमा लाग्ने मत्स्यमेलाको अवसरमा चिचिला गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। कात्तिक शुक्ल पूर्णिमा अर्थात् कात्तिक १९ गते बुधबार मत्स्यपोखरीमा विगत वर्षहरूदेखि नै मत्स्यमेला लाग्दै आएकाले चिचिला गाउँपालिकाले एक दिन स्थानीय सार्वजनिक बिदा दिएको हो।
चिचिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष राईले सूचना प्रकाशन गर्दै बुधबार एक दिन चिचिला गाउँपालिका कार्यालय, मातहतका अन्य कार्यालयहरू बन्द रहने जनाएका छन् । उक्त दिन आकस्मिक सेवा भने नियमित रहने गाउँपालिकाले जनाएको छ।
चिचिला गाउँपालिकामा स्थानीय बजार तथा मेलाको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय बिदा दिइँदै आएको चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले बताए । स्थानीय धार्मिक तथा पर्यटकीय सम्पदाहरूको संरक्षण र सम्बर्द्धन गर्ने जिम्मेवारीसमेत पालिकाको भएको हुँदा यसलाई अझ भव्य र विशेष आकर्षणको केन्द्र बनाउँदै लैजाने पालिकाको योजना रहेको अध्यक्ष शेर्पाले बताए।
स्थानीय मेलामा संखुवासभा जिल्लाका साथै छिमेकी जिल्ला र गाउँबस्तीहरूबाट समेत मेला भर्न आउन अनुरोध गर्दै आन्तरिक पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य बनाउन पालिका लागिरहेको अध्यक्ष शेर्पाको भनाइ छ । चिचिला गाउँपालिकाभित्र मुख्यतः डेंवा बजार, मत्स्यमेला र देवीटार मेला लाग्ने गरेको पाइन्छ ।
मत्स्यपोखरीमा परापूर्वकालदेखि नै कात्तिक शुक्लपूर्णिमाको दिन बिहानदेखि रातिसम्म नै मेला लाग्ने गरेको छ । मेला भर्नका साथै प्राकृतिक सौन्दर्यले भरिएको मत्स्यपोखरी घुम्न आउने तथा स्थानीय उत्पादनहरू बिक्री गर्नेहरूको बाक्लो उपस्थिति रहँदै आएको छ । मत्स्यपोखरीमा कहिल्यै पानी नसुक्ने र पोखरीमा रहेको माछा मार्न नहुने किंवदन्ती रहर्दै आएको छ ।