संखुवासभाको चैनपुरमा ज्यान मार्ने धम्की दिई पैसा असुल्ने ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा प्युठान नौबाहिनी गाउँपालिका–६ हाल चैनपुर नगरपालिका–७ मा बस्दै आएका ३० वर्षीय केवी पुन मगर, चैनपुर–७ का २५ वर्षीय लब आले मगर, सोही वडा बस्ने ३१ वर्षीय युवराज पिठाकोटे मगर, सोही वडाका २५ वर्षीय यमसिख यसमाली मगर, सोही वडाका २५ वर्षीय प्रदिप समाल मगर र सोही वडाका अर्का २९ वर्षीय ऐम विरेन यसमाली मगर रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।
उनका अनुसार, सुनसरी गढि गाउँपालिका–५ घरभइ चैनपुरमा डेरा गरी बस्ने अक्षय चौधरीलाई १२ कार्तिक राति १० बजे उनीहरूले मोटरसाइकल रोकी चाबी खोसेर अपशब्द गर्नुका साथै कुटपिट गरि स्थानीय पदमबहादुर यसमाली मगरको घरमा जबरजस्ती लगेर विभिन्न प्रलोभनमा पार्नुका साथै ज्यान मार्ने धाकधम्की दिई २० लाख रुपैयाँ माग गरेका थिए ।
चौधरीलाई कसैलाई नभन्ने भनेर उनीहरूले भिडियो समेत बनाएका थिए । चौधरीले आफ्नो साथमा रहेको नगद ८१ हजार १ सय ४५ रुपैयाँ तत्काल दिई राति ३ बजे बाँकी पैसा घरबाट ल्याएर दिने शर्तमा छोडेको प्रहरीको भनाइ छ ।
निजहरूलाई पक्राउ गरि खानतलास गर्दा नगद ३८ हजार चार सय ७० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाको भनाइ छ । उनीहरूलाई नियन्त्रणमा लिई आपराधिक लाभ कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।