पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमेत सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार निगम सञ्चालक समिति र व्यवस्थापकलाई सिंहदरबार बोलाएर आर्थिक भार बढ्ने गरी पहुँचका भरमा भर्ना गरिएका कर्मचारी हटाउन निर्देशन दिएकी छिन् । कार्कीकै सरकार बनेपछि निगमबाट बिदा भएका पूर्वअध्यक्ष युवराज अधिकारीले समेत अवकाशको मुखमै थप कर्मचारी भर्ना गरेपछि ‘एक्सन’ लिएको स्रोत बताउँछ ।
सिंहदरबारमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीलगायतलाई निर्देशन दिँदै उनले भनिन्, ‘जेन–जीले यत्रो रगत बगाएको केका लागि हो रु यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन रु यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ । अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन ।
कतिसम्मको बेथिति हो यो ?’
प्रधानमन्त्रीले निगमलाई धनाढ्यको बिग्रको घरसँग तुलना गरिन् । ‘अहिले निगमको नियति र धनाढ्यको बिग्रेको घर उस्तै–उस्तै छ, हेर्दाखेरि सबैथोक छ, तर भित्र दर्दनाक अवस्था छ,’ उनले भनिन्, ‘नाफा वा घाटा केही नभएर चलेको मात्र भए पनि पर्याप्त रोजगारी दिएको छ भनेर चित्त बुझाउन हुन्थ्यो, त्यो पनि छैन ।’
कार्कीले निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर कदम चाल्न निर्देशन दिएकी छिन् । निगम सुधारका लागि अहिलेसम्म बनेका प्रतिवेदनहरूको सुझाव कार्यान्वयन गर्न पनि भनेकी छिन् । त्यस्तै, कतैबाट आउने अनुचित र गैरकानुनी दबाब नसुन्न सुझाएकी छिन् ।
‘राजनीतिक मान्छेहरूले दबाब दिन्छन् । तपाईंहरू किन खुरुखुरु त्यस्तो दबाब मान्ने रु भोलि कारबाहीमा पर्ने त तपाईंहरू हो नि ! ’ उनको भनाई थियो, ‘तपाईंहरू विधिसम्मत तरिकाले चल्ने हो भने कसैले पनि कारबाही गर्दैन । राम्रो काम गर्दा अख्तियारसँग पनि डराउनुपर्दैन । अख्तियारलाई बहाना बनाएर हात बाँधेर पनि नबस्नुहोस् ।’
निगमले आफ्नो जहाजको इन्जिन मर्मत गर्न पठाएर नल्याउने, भाडाको इन्जिन चलाएर ठुलो खर्च लेख्ने प्रवृत्तिमाथि पनि प्रधानमन्त्रीले प्रश्न उठाइन् । ‘यो घाटा त जनताले व्यहोरेको घाटा हो नि,’ उनले भनिन्, ‘अब यो संस्था सुधार्न कठोर कदम चाल्नुपर्छ, अप्रिय निर्णय गर्न पनि तयार हुनुपर्छ ।’
निजी क्षेत्रका सेवाप्रदायकले ठुलो नाफा कमाइरहँदा निगम घाटामा जानुको कारणबारे पनि उनले प्रश्न गरिन् । ‘सरकारले नै यति ठुलो स्रोत–साधन उपलब्ध गराएको छ, सरकारले साथ दिइरहेको छ । तैपनि, यो संस्था घाटामा जानुको कारण के हो रु बरु, यो पैसाले विश्वविद्यालय, स्कुल वा अस्पताल बनाएको भए पनि हुन्थ्यो कि रु’ उनले भनिन्, ‘संस्था सुधारमा लाग्नुस्, सरकार दाहिने हातमा छ ।’