मकालु हिमाल आरोहणमा आएका विदेशी पर्यटकको उद्धार

आइतबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि आएका विदेशी पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

संखुवासभाको मकालु गाउँपालिकास्थित मकालु हिमाल आरोहणका लागि आएका स्पेनी नागरिक जेसस मार्टिनेज नोभासलाई आइतबार बिहान ८ बजे निजी हेलिकोप्टर सेवा प्रदायक कम्पनी इजी हेली चार्टर सर्भिसले उद्धार गरेको हो।

उनलाई उद्धार गरी सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, डिङबोचेमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी कुमारप्रसाद मैनालीले बताए। मैनालीका अनुसार ती विदेशी पर्यटक सोलुखुम्बुतर्फ ट्रेकिङका लागि निस्किएका थिए। उनलाई सेर्पिनिकोल क्षेत्र (५७०० मिटर उचाइ)बाट उद्धार गरिएको प्रहरीको भनाइ छ।

उनी लगातार वर्षाको कारण ११ कात्तिकदेखि उक्त क्षेत्रमा फसेको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा लगातार हिमपात र खराब मौसमका कारण नोभास ६ दिनदेखि फसेका थिए। सम्पर्कविहीन बनेका नोभासलाई खोजीका लागि स्पेनी दूतावास, प्रहरी प्रशासन र निजी उद्धार कम्पनीले समन्वय गरेका थिए। 

केही दिनअघिदेखि नै विदेशी पर्यटक नोभास सम्पर्कविहीन बनेको खबर प्राप्त भए पनि मौसमका कारण खोजी गर्न समय लागेको प्रहरीको भनाइ छ।
 

सुझावित समाचार