एमालेले देशैभर डिजिटल जेनेरेसन फोर्स (डिजी फोर्स) तथा टोल सुरक्षा समूह गठन गर्ने अभियान बढाएको छ । अध्यक्ष केपी ओलीको सुरक्षाका लागि भक्तपुरको गुन्डुबाट सुरु गरिएको अभियान टोल सुरक्षा र जेन–जी पुस्ताका मुद्दा संकलनका रूपमा देशैभर विस्तारित हुने क्रममा रहेको एमालेले जनाएको छ । एक महिनाकै बिचमा भक्तपुरमा मात्रै एमालेले २५ वटा डिजी फोर्स तथा टोल सुरक्षा समूह बनाएको जनाएको छ ।
अध्यक्ष ओलीको निवास व्यवस्थापनदेखि सुरक्षा व्यवस्था तथा भेटघाटलगायतको नियमित समन्वय गरिरहेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पार्टी अध्यक्ष ओलीलाई सुरक्षा दिने तथा जेन–जी पुस्ताको मुद्दा संकलन गर्ने प्रारम्भिक उद्देश्यसहित सुरु भएको अभियान विस्तारित हुँदै गएको बताए । ‘पार्टी नेतृत्वको निर्देशनअनुसार देशभरका प्रत्येक टोलमा डिजिटल जेनेरसन फोर्स (डिजी फोर्स)/टोल सुरक्षा समूह गठन गर्ने काम अघि बढाइएको छ । तिनले प्रहरीको मनोबल बढाउने र स्थानीय तवरमा भएका अपराध नियन्त्रणका लागि सहयोग गर्नेछ,’ बस्नेतले भने ।
अहिलेसम्म भक्तपुरको सूर्यविनायकको नौवटा वडामा नौ, चाँगुनारायणमा आठ, मध्यपुर ठिमीमा ६ र भक्तपुर नगरपालिकामा दुईसहित २५ वटा फोर्स गठन भएका छन् । केन्द्रीय कमान्डलाई अध्यक्षको निवास गुन्डुकेन्द्रित हुने गरी फोर्सको संयोजक पुष्प श्रेष्ठ र सहसंयोजक अमित पौडेल तोकिएका छन् । कमान्डमा रहने सदस्यहरू भने थप छलफलकै क्रममा रहेको बस्नेतले बताए । ओलीको सुरक्षाका लागि २५ जना केन्द्रीय कमान्डअन्तर्गत र बाँकी २५ जना विभिन्न जनसंगठनका सहित ५० जना नियमित खटिने गरेका छन् । राष्ट्रिय युवा संघबाहेक भूतपूर्व सैनिक प्रहरी संगठन र अनेरास्ववियुबाट स्वयंसेवी भूमिकामा सुरक्षामा खटिएका छन् ।
बस्नेतले २४ भदौमा सरकारी र व्यक्तिगत सम्पत्ति तथा प्रहरी चौकी नष्ट गर्ने र तोडफोड गर्ने व्यक्तिहरूको विषयमा अहिलेसम्म ६ हजार ३४७ वटा भिडियो क्लिप र व्यक्तिगत विवरण प्राप्त भएको भन्दै डिजी फोर्सको केन्द्रीय कमान्डमा आउने गरी थप अन्य विवरण पठाउन आग्रह गरिएको पनि बताए । सरकारले विध्वंसात्मक गतिविधि गर्नेलाई छुट दिने सम्भावना रहेकाले पनि विवरण संकलन गर्न बाध्य भएको उनको भनाइ छ ।