आरक्षपीडितद्वारा सामुदायिक वनको जमिन कब्जा

आइतबार, ९ कार्तिक, २०८२
डिजिटल संस्करण
आरक्षपीडितद्वारा सामुदायिक वनको जमिन कब्जा

कञ्चनपुरकोे कृष्णपुर नपा–१ पहरिया जयशंकर सामुदायिक वनको जमिन कब्जा गरेर बसेका आरक्षपीडितहरू ।

कञ्चनपुरका आरक्षपीडितहरूले सामुदायिक वनको जमिन कब्जा गरेर बस्न थालेका छन्। अढाई दशकअघि विस्थापित पीडितहरूले कृष्णपुर नगरपालिका–१, पहरियास्थित जयशंकर सामुदायिक वनको जमिन कब्जा गरेका हुन्। गत बुधबारदेखि आरक्षपीडितहरूले सामुदायिक वनको जमिन कब्जा गरेर बस्न थालेका हुन्। 

आरक्षपीडित संघर्ष समितिका सहसचिव कृष्ण भट्टले २४ वर्षदेखि सरकारले पुनर्स्थापना गर्छु भन्दै ठग्दै आएपछि बाध्य भएर कुकाठवाला वनको जमिन कब्जा गरेर बसेको बताए ।

उनका अनुसार झन्डै अढाई सय पीडितहरू टहरा बनाएर बसेका छन्। वनमा बसेका पीडितहरूले धर्नासमेत दिएका छन्। उनीहरूले गत २२ साउन ०८२ देखि महेन्द्रनगर, वाणी ढक्कामा एकसाथ धर्ना दिएका थिए। 

आरक्षपीडित संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले पुनर्स्थापनाका लागि जिल्लादेखि केन्द्रसम्म संघर्ष गर्दा गर्दा पनि न्यायका लागि कसैले चासो नदेखाएपछि बाध्य भएर जहाँ खाली छ, त्यहीँ बसेको बताए। पीडितहरूले अब कुनै पनि हालतमा उक्त स्थान नछाड्ने चेतावनी दिएका छन्।

संविधानमा हरेक नागरिकलाई भूमि तथा बसोबासको अधिकारको ग्यारेन्टी गरिएको भए पनि तत्कालीन सरकारले आफूहरूको उठिबास लगाएकाले अहिले अधिकारका लागि लडेको बताएका छन्। ०५८ सालमा तत्कालीन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापितहरूको हालसम्म पुनर्थापना नहुँदा उनीहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन्। 

जयशंकर सामुदायिक वनका अध्यक्ष दामोदर भण्डारीद्वारा हस्ताक्षरित गरिएको सूचनामा २४ घण्टाभित्र वनको जमिन खाली गर्न चेतावनी दिएका छन्। निकुञ्जबाट विस्थापितहरूको पुनर्स्थापनाका लागि हालसम्म ३४ आयोग गठन हुँदासमेत पीडितको समस्या जस्ताको त्यस्तै छ। डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख विश्वेश्वरप्रसाद जोशीले सरकारी सामुदायिक वनको जमिन  कब्जा गरेर बस्न नपाइने बताए।

सुझावित समाचार