घरनजिकैको कान्लामा रहेको रुखमा चढेर घाँस झर्ने क्रममा रुखबाट लड्दा रामेछापको उमाकुण्ड गाउँपालिका– ४, प्रितीस्थित बसेरीका ६८ वर्षीय रुद्रबहादुर सुनुवार गम्भीर घाइते भएका छन्।
शनिबार दिउँसो घाँस झार्न रुख चढेका रुद्रबहादुर अकस्मात चिप्लिएर भुइँमा बजारिन पुगेका थिए। उनको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ।
रुख चढेका सुनुवार अकस्मात लडेको आफ्नै परिवारका सदस्यहरूले देखेपछि उनको तत्काल घटनास्थलबाट उद्धार गरी प्राथमिक उपचारका लागि प्रिती स्वास्थ्य चौकीमा लगिएको थियो। स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।
उनको हाल नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको उमाकुण्ड इलाका प्रहरी कार्यालय प्रितीका प्रहरी हवल्दार चक्रबहादुर राईले जानकारी दिए।