सिराहाको लहान नगरपालिकाले लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय सञ्चालनका लागि विद्युतीय उपकरणसहित फर्निचरका सामग्री सहयोग उपलब्ध गराएको छ ।
जेन–जी आन्दोलनको नाममा लुटपाट, आगजनी र तोडफोड भएको खाद्यलाई दैनिक कार्यालय सञ्चालनका लागि सहयोग पुर्याउन नगरपालिकाले कम्प्युटर, प्रिन्टर, कुर्सी, टेबुललगायतका सामग्री उपब्ध गराएको हो ।
नगर प्रमुख महेशप्रसाद चौधरीले शुक्रबार खाद्यका प्रमुख दीपकसुनार, वरिष्ठ सहायक अनिलकुमार महतोलाई एक–एक थान कम्प्युटर र प्रिन्टर सेट, १०–१० वटा प्लास्टिकका कुर्सी र टेबुल, चारवटा अन्य टेबुल हस्तान्तरण गरेका हुन् । ‘आन्दोलनपछि कार्यालय कोठा, फर्निचर, इन्टरनेट नहुँदा पछिल्लो करिब महिनादेखि ठप्प रहेको कार्यालय सञ्चालनका लागि सहयोग गरिएको हो,’ नगर प्रमुख चौधरीले भने, ‘क्षतिग्रस्त भवनको झ्याल, ढोकाको मर्मतसहित कार्यालयअन्तर्गतका कोठाहरूमा नगरपालिकाले विद्युतीकरण गर्न पनि सघाउनेछ ।’ खाद्यले स्थानीय किसानले धानको उचित मूल्य पाएको उल्लेख गर्दै उनले आन्दोलनपछि असुरक्षाको कारण देखाउँदै कार्यालय अन्यत्र स्थानान्तरण गर्ने सूचना पाएकाले पालिकाले सहयोग उपलब्ध गराएको बताए ।
दैनिक कामकाज सहज
सिराहा, सप्तरी, उदयपुरसहित विभिन्न १८ जिल्लामा चामल, चिनीलगायतका खाद्य सामग्री आपूर्ति गर्दै आएको खाद्यको कार्यालय नियमित सञ्चालनका लागि नगरले गरेको सहयोगले दैनिक कामकाज सहज भएको प्रमुख सुनारले बताए । ०६३ सालको मधेश आन्दोलनमा पनि लुटपाट भएको कार्यालय जेन–जी आन्दोलनपछि असुरक्षाको कारण देखाउँदै स्थानान्तरण गर्ने चर्चा चलिरहेका वेला स्थानीय तहको पहलमा कार्यालय पुनः सञ्चालनमा ल्याउने प्रयास गरिएको हो ।
कार्यालयका अनुसार गत भदौ २४ गतेको जेन–जी प्रदर्शनका क्रममा खाद्य संस्थानको कार्यालयमा आगजनी हुनुका साथै चारवटा गोदाममा भण्डारण गरिएको आठ हजार १४८ क्विन्टल चामल, तीन हजार २२० क्विन्टल चिनी, ५३ क्विन्टल २१ किलो धान र ९८ हजार ८१५ थान जुटका बोरा लुटिएका थिए । खाद्यान्न भण्डारणमा प्रयोग हुने नयाँ–पुराना आठ थान विशेष प्रकारको त्रिपाल ‘फ्युमिगेसन सिट’समेत लुटिएको थियो ।
संस्थानका अनुसार लुटपाटबाट भएको अनुमानित क्षति १० करोड ९१ लाख २२ हजार ८२७ रहेको छ । लुटपाटपछि स्थानीय युवा र प्रशासनको संयुक्त प्रयासमा दुई सय ९३ क्विन्टल ४३ किलो चामल र सात क्विन्टल ८४ किलो चिनी फिर्ता भएको खाद्य संस्थानले जनाएको छ ।