काठमाडौं जाने सवारी हेटौँडामा रोकिए, अविरल वर्षापछि उपत्यका प्रवेशमा अस्थायी रोक

शनिबार, १८ असोज, २०८२
डिजिटल संस्करण

अविरल वर्षापछि सुरक्षाको कारण देखाउँदै हेटौँडाबाट मकवानपुरका विभिन्न सडक भएर काठमाडौं उपत्यका प्रवेशमा अस्थायी रोक लगाइएको छ । यससँगै मकवानपुर हुँदै संघीय राजधानी काठमाडौं जाँदै गरेका सयौँ सवारीसाधन हेटौँडामा रोकिएका छन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण प्राधिकरणले जारी गरेको सूचनाअनुसार आगामी तीन दिनसम्म भारी वर्षा र त्यसपछि पहिरो, बाढी तथा सडक अवरोधजस्ता जोखिम उच्च रहने पूर्वानुमान गरिएको छ । सोही कारण उपत्यका प्रवेशमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय र प्रहरीले जनाएका छन् ।

शनिबार बिहानदेखि निरन्तर वर्षा भएपछि हेटौँडाबाट राजधानीतर्फ जाने विभिन्न सडकखण्डहरूमा ढुंगा खस्ने, पहिरो जाने र सडक धसिने घटना बढ्न थालेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–काठमाडौं जोड्ने मार्गमा सुरक्षाको खतरा बढेकाले उपमहानगरपालिका– १, चौकीटोलमा सवारीसाधनहरू रोकिएको हो ।

प्रहरीका अनुसार परिस्थिति सामान्य भएपछि मात्र आवागमन नियमित गरिनेछ । यसैबिच, यात्रुहरू हेटौँडामा नै रोकिएका छन् भने स्थानीय प्रशासनले सुरक्षा तथा आवागमन व्यवस्थापनका लागि वैकल्पिक उपायहरूबारे छलफल गरिरहेको जनाएको छ ।

सुझावित समाचार