सर्लाहीको ब्रह्मपुरीमा भएको सवारी दुर्घटनामा मोटरसाइलकमा सवार दुई युवकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । गएराती ब्रह्मपुरी गाउँपालिका–५, स्थित हुलाकी सडक खण्डमा एम एच ०४ डिजे १२९७ नम्बरको भारतीय स्कारपियाले प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउपालिका–२, बस्ने २३ वर्षका अङ्कित चौधरी र २५ वर्षका रोहित सहनीको मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार सोही स्थानका २३ वर्षका शिव शंकर पण्डित गम्भीर घाइते भएका छन् । घाइते पण्डितको एलएस न्यूरो अस्पताल बारामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सीमावर्ती क्षेत्रस्थित ब्रम्हपुरी गाउँपालिकास्थित हुलाकी सडक हुँदै पर्साबाट भेल्ही आउँदै गरेको उक्त स्कारपियो गाडीले विपरित दिशाबाट जाँदै गरेको तीन जना सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र पण्डितलाई रामजानकी अस्पताल जनकपुर पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । प्रहरीले दुर्घटनामा संलग्न स्कारपियो र मोटरसाइकल नियन्त्रणमा लिएको छ भने, घटनालगत्तै फरार स्कारपियो चालकको खोजी भइरहेको जनाएको छ ।