पर्साको वीरगन्ज महानगरपालिकाअन्तर्गत हरपतगन्ज हाइवे, अपौनी, उदयपुर–घुर्मी, सौराहालगायतका टोलहरू जोड्ने सडकको काम वर्षौँदेखि अलपत्र हुँदा यात्रुहरूलाई समस्या भएको छ। सघन सहरी तथा भवन निर्माण कार्यालय वीरगन्जमार्फत ठेक्का पाएको ठेकेदार कम्पनीले विगत आठ वर्षदेखि सडक खनेर करिब आठ किलोमिटर सडक अलपत्र पारेपछि यात्रुहरू मर्कामा परेका हुन्।
अधुरो सडकको काम पूरा गर्न आयोजना कार्यालय र ठेकेदार कम्पनीलाई पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएको वडा नम्बर २० अपौनीनिवासी स्थानीय बिक्की सिंहले गुनासो गरे।
ठुलो आयोजनाको रूपमा रहेको यो सडक लामो समयदेखि अलपत्र हुँदा सडकमा जमेको पानी र फोहाेरले आवतजावतमा समेत गम्भीर समस्या उत्पन्न भएको उनले बताए।
ठेकेदार कम्पनीको आन्तरिक विवादले गर्दा लामो समयदेखि उक्त आयोजना सम्पन्न हुन नसकेको सघन सहरी तथा भवन निर्माण कार्यालय वीरगन्जका कर्मचारीहरू बताउँछन्। उनीहरूका अनुसार ठेकेदारहरू कम्पनीहरूको विवाद अदालतमा पुगेकाले आयोजना अलपत्र परेको हो।
गत आर्थिक वर्ष ०७४/७५ मा स्वच्छन्द/पप्पु/युनाइटेड बिल्डर्स जेभी वीरगन्जले ८४ करोड ९८ लाख ५३ हजारमा उक्त सडकको ठेक्का सम्झौता गरेको सघन सहरी तथा भवन निर्माण कार्यालय वीरगन्जका सूचना अधिकारी राजन जैसवालले जानकारी दिए।
उनका अनुसार ०७५ जेठ ९ मा सम्झौता भएको आयोजनाको ०८२ जेठ १४ सम्म पाँचपटक म्याद थप भए पनि काम पूरा हुन सकेको छैन। सूचना अधिकारी जैसवालले उक्त आयोजनामा हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएकाले ठेकेदार कम्पनीले ५९ प्रतिशत (५४ करोड ११ लाख) भुक्तानी पनि लिइसकेको बताए। साथै अहिलेको समयमा ठेकेदार कम्पनीले भिओ गरेर आयोजनामा ९१ करोड ४७ लाख लागत पुर्याएको जैसवालले बताए।
सडक निर्माण गर्न मन्त्रीको ध्यानाकर्षण
पर्साको वीरगन्ज महानगरपालिका– २० का वडाध्यक्ष रामकिशोर सिंह परागले आठ वर्षदेखि खाल्डो खनेर अलपत्र छोडिएको सडक निर्माण कार्य तत्काल सम्पन्न गर्न माग गरेका छन्।
वडाध्यक्ष सिंहले पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत सहरी विकासमन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदै तत्काल ग्राभेल बिछ्याई सञ्चालनयोग्य बनाउन आग्रह गरेका हुन्।
उनका अनुसार गत आर्थिक वर्ष ०७४/७५ मा उक्त सडक ठेक्का लिएर ठेकेदारले गहिरो खाल्डो खनेर छाडेपछि स्थानीयहरू हैजा, मलेरिया र डेंगुजस्ता रोगको जोखिममा छन्। सडकमा जमेको पानी र फोहाेरले आवतजावतमा समेत गम्भीर समस्या उत्पन्न भएको उनले बताए।
वडाध्यक्ष सिंहले विगत आठ वर्षमा पाँचपटकसम्म समय दिइए पनि काम पूरा नभएको गुनासो गर्दै मन्त्रालयको पहलमा अपूरा काम सम्पन्न गर्न तथा तत्काल ग्राभेल बिछ्याई सडक सञ्चालन हुने व्यवस्था मिलाउन आग्रह गरेका छन्। यसअघि सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, वीरगन्ज महानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई पटक–पटक जानकारी गराए पनि ठोस पहल नभएको उनको गुनासो छ।
प्रजिअ तोयनारायण सुवेदीले ठेकेदार कम्पनीले गरेको लापरबाहीको निरीक्षणमा आयोजना प्रमुखलाई नै लिएर जाने बताएका छन्। लामो समयदेखि अलपत्र रहेको उक्त आयोजनाको निरीक्षणपछि केही निष्कर्ष निकाल्ने उनको भनाइ छ।
सदरमुकामसँग जोडिएको आयोजना लामो समयदेखि अलपत्र पार्नेलाई कानुनी दायरामा ल्याउन पहल गर्ने उनले बताए। आठ वर्षसम्म पनि काम सम्पन्न नभएकाले अहिले गम्भीर रूपमा लिएर अगाडि बढ्ने प्रजिअ सुवेदीले बताए।
आयोजनाबारे आयोजना प्रमुख र ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएर काम अगाडि बढाउन लगाउने उनले बताए।