३३ पुग्यो आन्दोलनमा मृत्यु हुनेको संख्या

एक हजार ६१ घाइतेमध्ये सात सय १९ डिस्चार्ज, दुई सय ७४ उपचाररत

बिहिबार, २६ भदौ, २०८२
डिजिटल संस्करण

दुई दिन चलेको जेन–जी आन्दोलनमा प्रदर्शनकारी, प्रहरी र आगजनीमा मृत्यु हुनेको संख्या कम्तीमा ३३ पुगेको छ । विभिन्न अस्पतालले ३० मृतकको सूची उपलब्ध गराएकोमा बुधबार पोखरामा आगजनी भएका संरचनाभित्र दुई र ललितपुरमा एकको शव जलेको अवस्थामा भेटिएको हो । 

प्रदर्शनको पहिलो दिन सोमबार १९ जनाको मृत्यु भएको थियो । मंगलबार यो संख्या थपिएर ३० पुग्यो । बुधबार पोखरा महानगरपालिका– ६ लेकसाइडस्थित एक रिसोर्ट र पोखरा– ९ नयाँबजारस्थित एक सोरुममा गरी दुईजनाको शव जलेको अवस्थामा फेला परेको छ । बुधबारै ललितपुर ढोलाहिटीमा माओवादी अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालको घरभित्र एकजनाको शव जलेको अवस्थामा भेटिएको छ ।

अस्पतालहरूले स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको तथ्यांकअनुसार ट्रमा सेन्टरमा आठ, सिभिल अस्पतालमा ६, भेरी अस्पताल (नेपालगन्ज)मा ५, एभरेस्टमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसीमा २, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान)मा दुई र त्रिवि शिक्षा अस्पतालमा १ को मृत्यु भएको छ । यसबाहेक बुधबार माओवादी अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालको घरभित्र जलेको अवस्थामा एक र पोखरामा पनि आगजनी भएको घरभित्र अर्को एक शव भेटिएको बताए पनि पहिचान बाँकी रहेकाले प्रहरीले आधिकारिक रूपमा सार्वजनिक गरेको छैन ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभरका अस्पतालमा एक हजार ६१ जना घाइते भर्ना भएकामा ७१९ डिस्चार्ज भएका छन् । घाइते भएपछि सबैभन्दा धेरै सिभिलमा ६३६, ट्रमा सेन्टरमा १६१, एभरेस्टमा १०९, केएमसीमा ३३, त्रिवि शिक्षणमा २६ र वीरमा २० जना उपचारमा थिए । त्यस्तै, पाटनमा १०, गण्डकी मेडिकल कलेज (पोखरा)मा ६, अन्नपूर्ण न्युरोमा ४ र नर्भिकमा ३ जना भर्ना थिए ।

स्वास्थ्यसचिव विकास देवकोटाले घाइतेहरूको उपचार नि:शुल्क  गरिएको र कुनै असहजता नभएको बताउँछन् । तर, मन्त्रालय नै आगजनीमा ध्वस्त भएपछि अस्पताल व्यवस्थापन र बिरामीको उपचारको परिपाटी मिलाउन भने कठिन भइरहेको उनले बताए । ‘मन्त्रालय ध्वस्त भयो, बाहिरबाटै अस्पतालहरूको अवस्था र उपचार प्रबन्ध मिलाइरहेका छौँ,’ उनले भने, ‘घाइतेको नि:शुल्क उपचार गरिरहेका छौँ, अधिकांश अस्पतालहरूमा ओपिडी सेवा बन्द छ, कतिपय स्वास्थ्य संरचना ध्वस्त भए, एम्बुलेन्स तोडफोड भए ।’ उनका अनुसार चारतले स्वास्थ्य मन्त्रालय र भवनभित्रका सबै सामान जलेर नष्ट भएका छन् । मन्त्रालयको स्टोर रुममा कतिपय स्वास्थ्य उपकरणसमेत थिए । केही औषधि पनि स्टोर गरिएको थियो । तर, सबै जलेर खरानी भएको छ ।

अस्पतालको बेडबाट घाइतेहरू भन्छन्– हामी तोडफोड र आगजनी गर्ने सोचमा उत्रिएका थिएनौँ, प्रहरीले अन्धाधुन्ध गोली हान्यो 
सिराहाका २६ वर्षीय निशेष महत युनिग्लोब कलेजमा स्नातक तहमा अध्ययन गर्छन् । आफ्नो उमेर समूहका युवा (जेन–जी)ले आयोजना गरेको प्रदर्शनमा उनी सोमबार र मंगलबार सरिक भए । सोमबार संसद् भवन गेटमै पुगेका उनी प्रहरीको गोलीबाट बँचेका थिए । तर, मंगलबार भने उनलाई प्रहरीले ताकेरै गोली ठोक्यो । 

‘मभित्र संसद् भवन छिर्न खोजेको थिएँ, तर छिर्न नपाउँदै प्रहरीले गोली ठोक्यो,’ उनले भने । हाल उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको दाहिने हातको कुहिनाको हड्डी नै फुटेको छ ।

बाजुराका सन्तोष रावललाई सोमबार संसद् भवनबाहिर ब्यानर समातेर उभिएको अवस्थामा प्रहरीको गोली लाग्यो । महेन्द्र रत्न क्याम्पसमा स्नातक तहमा अध्ययनरत उनी गोली घुँडानजिक लागेकाले घाइते मात्र भए । हाल उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ । ‘दबाब दिनका लागि हामी त्यहाँ पुगेका थियौँ, तर प्रहरीले गोेलीको वर्षा नै चलायो, म र अन्य साथीहरू त्यहीँ ढल्यौँ, कसैले उठाएर अस्पताल लगेको रहेछ,’ सर्जरीपछि सिभिल अस्पतालको जेनेरल वार्डमा सारिएका उनले सुनाए । 

सिन्धुपाल्चोक जलबिरेका समीर आचार्य सोमबार दिउँसो अन्य साथीहरूसँगै कलेजबाट फर्किँदै थिए । आन्दोलनमा नआएका उनको बुद्धनगर पुगेपछि प्रहरीले अन्धाधुन्ध चलाएको गोलीले घुँडा नै छेड्यो । हाल उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ‘म आन्दोलनमा हिँडेको थिइनँ, तर प्रहरीले घुँडामा ताकेर गोली हाल्यो, म त्यहीँ ढलेँ,’ उनले ट्रमाको बेडबाट सुनाए । 

रौतहटका दानिस आलमलाई साथीहरूले जेन–जीको आन्दोलनमा सरिक हुन आह्वान गरेका थिए । साथीहरूसँग उनी पनि मंगलबार सडकमा निस्किए । तर, कालिमाटी चोकमा गोली लाग्यो । पाखुरामा गोली लागेपछि ट्रमा सेन्टर पुर्याइएका उनको अप्रेसनपछि उपचार जारी छ । ‘युवाहरू मात्रै होलान् भनेर म आन्दोलनमा पुगेको थिएँ, तर त्यहाँ फरक–फरक मानिसहरू रहेछन् । तोडफोड गर्ने हाम्रो सोच थिएन, तर अर्कै समूहले प्रहरी कार्यालय तोडफोड गर्यो,’ उनले सुनाए, ‘एउटाको आन्दोलनमा छिरेर अर्कोले तोडफोड गर्यो ।’ 

धरानका २५ वर्षीय सहन राई एनसेलको कार्यालयमा काम गर्दै आइरहेका थिए । सोमबारको प्रदर्शनमा युवामाथि प्रहरीले दमन गरेको थाहा पाएपछि उनी मंगलबार ऐक्यबद्धता जनाउन सडकमा होमिएका थिए । संसद् भवनको गेटमै पुगेका उनको दुवै हात र दाहिने खुट्टामा गोली लाग्यो । तुरुन्तै सिभिल अस्पतालमा पुर्याइएका उनको अपरेसन गरेर जनरल वार्डमा सारिएको छ । ‘युवा आन्दोलनलाई साथ दिन संसद् भवनअगाडि पुगेको थिएँ । जब संसद् भवनको नजिकै पुगियो, त्यसपछि युद्धमै सहभागी भएजस्तो लाग्यो,’ उनले भने, ‘प्रहरीले अन्धाधुन्ध गोली हान्यो, प्रहरीले सोमबार त्यसरी गोली प्रहार नगरेको भए सायद आन्दोलन यति चर्को हुने थिएन ।’ 

सिभिल अस्पतालमा उपचाररत घाइते भन्छन्– सिंहदरबार र सर्वोच्च अदालतमा आगजनी गर्ने जेन–जी समूह होइन 
सिभिल अस्पतालको जनरल वार्डमा उपचार गराइरहेका बागलुङका संघर्ष भुसाल अस्पतालको शय्यामा रहे पनि देशको अवस्था के हुँदै छ भनेर चनाखो छन् । उनी मोबाइल हेरेर हरपल अपडेट भइरहेका छन् । टाउको, हात र खुट्टामा गोली लागेका उनलाई सोमबारै अपरेसनपछि जनरल वार्डमा सारिएको थियो ।

आन्दोलनमा भएको तोडफोडका घटनाले उनलाई अस्पतालको बेडमै तनाव बनाइरहेको छ । एउटा उद्देश्य राखेर गरेको प्रदर्शनको परिणाम अर्कै भएकोमा उनी चिन्तित छन् । ‘हामी त खासमा अहिलेको नेतृत्व फाल्नुपर्छ र युवालाई नेतृत्वमा ल्याउनुपर्छ भनेर पो आन्दोलनमा गएका हौँ, तर सिंहदरबार र अदालत फोड्न निस्किएका थिएनौँ,’ उनले सुनाए, ‘जेन–जीको आन्दोलनमा टेकेर कसैले तोडफोड गर्यो, किनभने हाम्रो समूहले हामीलाई महत्वपूर्ण संरचनामा क्षति नपार्नु भनेर गाइड गर्नुभएको थियो, तर जेन–जीभन्दा बाहिरी समूहले देशका अमूल्य सम्पत्ति नै सिध्यायो, एउटा उद्देश्य राखेर गरिएको प्रदर्शनमा देशलाई नै घाटा हुने अवस्था आयो, यो निकै दु:खद हो ।’

सिभिलमै उपचाररत अर्का घाइते केशर लिम्बूले पनि जेन–जीको प्रदर्शनमा अराजक समूह छिरेको बताए । ‘हामीले तोडफोड गर्ने र आतंक मच्याउने भनेर निस्किएका होइनौँ, तर मंगलबार सबै प्रकारका मानिसहरू आउनुभयो, उहाँहरूले देशका ठुला संरचनामा क्षति पार्नुभएको छ, यसमा जेन–जीलाई जोड्न मिल्दैन ।’ 

पोखरा र ललितपुरमा आगजनी भएका घरभित्र भेटिए थप तीन शव
बुधबार पोखरा महानगरपालिका– ६, लेकसाइडस्थित रिसोर्ट र पोखरा– ९, नयाँबजारस्थित एक सोरुममा गरी दुईजनाको शव जलेको अवस्थामा फेला परेको छ । बुधबारै ललितपुर ढोलाहिटीमा माओवादी अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालको घरभित्र एकजनाको शव जलेको अवस्थामा भेटिएको छ । उनीहरू तीनैजनाको सनाखत हुन सकेको छैन ।

See More On

सुझावित समाचार