पुलिसलाई स्पष्ट ६ अंकको अग्रता

मंगलबार, २७ साउन, २०८२
डिजिटल संस्करण
  • रविन श्रेष्ठ मुख्य प्रशिक्षक रहेको नेपाल पुलिस क्लब युथ लिग जित्ने योजनासाथ अघि बढेको छ 

नेपाल पुलिस क्लबले एन्फा यू–१६ लिगमा ६ अंकको अग्रता बनाएको छ । सोमबार १३औँ चरणको खेल सम्पन्न हुँदा पुलिसले दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबभन्दा ६ अंक बढी जोडेको हो । सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने १४ क्लबको युथ टिमबिचको प्रतिस्पर्धामा १३ मध्ये पुलिसले सर्वाधिक धेरै ११ खेल जितेको छ । मात्र एक खेल हारेको पुलिसले एक बराबरीसहित सर्वाधिक ३४ अंक जोडेको हो । राजु दर्जीको कप्तानीमा रहेको पुलिसले ४३ गोल गर्दा आठ गोल मात्रै व्यहोरेको छ । पछिल्लो खेलमा पुलिसले जावलाखेल युथलाई ३–० ले हराएको थियो ।

रविन श्रेष्ठ मुख्य प्रशिक्षक रहेको पुलिस लगातार युथ लिग जित्ने योजनासाथ अघि बढेको छ । पुलिसले केही महिनाअघि भएको ललित स्मृति यू–१८ लिग पनि जितेको थियो । त्यो समय पुलिसको प्रशिक्षक भोलानाथ सिलवाल रहेका थिए । डबल राउन्ड रोबिन पद्धतिमा आयोजना भएको लिगमा यसै सिजन बढुवा भएका प्लानिङ ब्वाइज क्लब र श्री भगवती क्लब पनि छन् । करिब तीन महिना चल्ने लिगको शीर्ष स्थानमा हुने टोली सीधै च्याम्पियन बन्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफाको सहयोगमा यो लिग आयोजना गरिरहेको छ । अनुमानित एक करोड दुई लाख खर्च लाग्ने प्रतियोगिताको विजेताले एक लाख पाउनेछ ।

यता, १३ मध्ये आठ खेल जितेको मनाङ २८ अंकसहित दोस्रो स्थानमा छ । मनाङलाई एक अंक कम रहेको मच्छिन्द्र फुटबल क्लबले पछ्याइरहेको छ । २६ अंकसहित संकटा क्लब तेस्रो स्थानमा रहँदा समान अंक रहेको फ्रेड्स गोलअन्तरमा पछि पर्दा पाँचौँ स्थानमा छ । २४ अंक जोडेको चर्च ब्वाइज छैटौँ,  एपिएफ क्लब सातौँ स्थानमा छ । तीन वर्षपछि मुद्दा किनारामा लाग्दा थ्री स्टार बी डिभिजन लिगमा झरेको थियो । थ्री स्टार बी डिभिजनमा लिगमा घटुवा हुँदा एपिएफले ए डिभिजन खेल्ने टुंगो लागेको थियो । 

यता, १६ अंकको जावालाखेल आठौँ, १५ अंकको हिमालयन शेर्पा नवौँ, श्री भगवती क्लब दसौँ, न्युरोड टिम एनआरटी ११औँ स्थान, प्लानिङ १२औँ,  त्रिभुवन आर्मी क्लब १३औँ र खाता खोल्न संघर्ष गरिरहेको सातदोबाटो युथ क्लब पुछारमा छ । 

See More On

सुझावित समाचार