चामेदेखि खाङसारसम्मको भाडा आधा घट्यो

शुक्रबार, २३ साउन, २०८२
डिजिटल संस्करण
चामेदेखि खाङसारसम्मको भाडा आधा घट्यो

अस्थायी मार्ग तथा भाडा निर्धारण समितिको बैठक

मनाङको सदरमुकाम चामेदेखि माथिल्लो मनाङको खाङसारसम्मको सार्वजनिक यातायातको भाडा ७५० रुपैयाँ कायम गरिएको छ । यसअघि सो रुटमा एक हजार पाँच सय रुपैयाँसम्म लिने गरिएको थियो । 

मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको अध्यक्षतामा शुक्रबार बसेको अस्थायी मार्ग तथा भाडा निर्धारण समितिको बैठकले भाडादर निर्धारण गरेको हो । सो भाडादर १ भदौदेखि लागू हुनेछ । 

भदौदेखि मनाङमा पर्यटक सिजन सुरु हुने भएकाले भाडादर व्यवस्थित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । चामेबाट खाङसार हुँदै ठुलो संख्यामा आन्तरिक तथा विदेशी पर्यटकहरू तिलिचो ताल तथा थोरङला पास जान्छन् । स्थानीय तहदेखि यातायात समितिका प्रनिनिधि तथा सुरक्षा निकायलगायत सरोकारवालासहितको बैठकले नयाँ भाडादर तय गरेको हो । पर्यटकीय सिजनलाई नै लक्षित गरी भाडादर निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । बैठकपछि यातायात व्यवसायी पनि भाडा घटाउन तयार भएका छन् । बैठकमा सार्वजनिक यातायात आचारसंहिता २०६७ कार्यान्वायन गर्ने विषयमा पनि छलफल भएको छ । 

जिल्ला प्रशासनको पहलमा यसअघि लमजुङको बेँसीसहरदेखि चामेसम्मको सार्वजनिक यातायातको भाडा पनि घटाइएको थियो । साथै, बेँसीसहरदेखि चामेसम्म सार्वजनिक बस पनि हालै सञ्चालनमा ल्याएपछि मनाङका स्थानीय तथा पर्यटकलाई सहज भएको छ । 

सुझावित समाचार