नेटोद्वारा ‘ऐतिहासिक’ खर्च वृद्धिको घोषणा

बिहिबार, १२ असार, २०८२
डिजिटल संस्करण

‘उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)’ को हेगमा जारी शिखर सम्मेलनका क्रममा यसका सदस्य राष्ट्रले आफ्नो रक्षा खर्च बढाउने सहमति जनाएका छन् । यो सहमति ‘सबैका लागि ठुलो विजय’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । सहमतिअनुसार सन् २०३५ सम्ममा सदस्य राष्ट्रहरूले आफ्नो कुल गार्हस्थ उत्पादनको पाँच प्रतिशत रक्षामा खर्च गर्नेछन् । ‘यो सबैका लागि ठुलो विजय हो । 

मैले पहिलेदेखि कुल गार्हस्थ उत्पादनको पाँच प्रतिशतसम्म सुरक्षा खर्च बढाउन सदस्य राष्ट्रलाई आग्रह गर्दै आइरहेको थिएँ । अहिले अब केही समयमा पाँच प्रतिशतसम्म जाने उनीहरूबाट प्रतिबद्धता आएको छ । यो धेरै महत्वपूर्ण समाचार हुनेछ,’ ट्रम्पले भने । समूहका सदस्य राष्ट्रका नेताले शिखर सम्मेलनको भावी खर्च वृद्धिप्रति प्रतिबद्धता जनाउँदै ‘ऐतिहासिक’ घोषणा गरेका थिए । ट्रम्पले लामो समयदेखि युरोपले आफ्नो प्रतिरक्षामा धेरै कम खर्च गरेको गुनासो गर्दै आएका थिए । 

ट्रम्पका समर्थकले रुसबाट बढ्दो खतराको सामना गर्न र ट्रम्पलाई खुसी राख्न पनि यो वृद्धि आवश्यक रहेको बताएका छन् । प्रतिबद्धतामा कुल गार्हस्थ उत्पादन (जिडिपी) को ३.५ प्रतिशत खर्चलाई शुद्ध रक्षा खर्च र अर्को १.५ प्रतिशत साइबर सुरक्षा र पूर्वाधारजस्ता व्यापक सुरक्षा–सम्बन्धित क्षेत्रमा खर्चिने गरी विभाजन गरेको छ । नेटोका महासचिव मार्क रुटले ट्रम्पको उच्च प्रशंसा गर्दै खर्च वृद्धिका लागि सबैलाई सहमत गराएकोमा उनीप्रति कृतज्ञता व्यक्त गरेका थिए । 

शिखर सम्मेलनमा आमन्त्रित युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्पबिच भेटघाट हुने चर्चा छ । ट्रम्पले जेलेन्स्कीलाई ‘असल मानिस’ को संज्ञा दिँदै युद्धविरामबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरिरहेको उल्लेख गरे । ‘मलाई लाग्छ प्रगति भइरहेको छ,’ ट्रम्पले भने । उता महासचिव रुटले पनि नेटोका सदस्यले किभलाई दिँदै आएको साथ समर्थन ‘अटुट र जारी रहने’ बताए ।

सुझावित समाचार