कार्यालय प्रमुखमाथि कुटपिट भएपछि धनगढीको त्रिनगर नाकामा रहेको कैलाली भन्सार कार्यालयबाट सामान जाँचपास दुई दिनदेखि रोकिएको छ । काम रोकेर कर्मचारी मुद्दा–मामिलामा व्यस्त छन् । दुई दिनदेखि भन्सारमा सामान अड्किएपछि व्यवसायी मारमा परेका छन् ।
कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि शनिबार राति कुटपिट भएको थियो । त्यसको विरोधमा कर्मचारीले काम रोकेका हुन् । आइतबार भन्सारको कामकारबाही आइतबार पूर्ण रूपमा बन्द थियो । सोमबार साँझबाट तरकारी, फलफूल र पेट्रोलियम पदार्थ बोकेका गाडीलाई जाँचपास दिइएको छ ।
कैलाली भन्सार कार्यालयका सूचना अधिकारी, हिम अर्याल भन्छन्—
कुटपिटमा संलग्नलाई कारबाही गर्नुपर्यो भनेर सोमबार दिनभर जिल्ला प्रहरी कार्यालयतिरै व्यस्त भयौँ । फलफूल, तरकारी र पेट्रोलियम पदार्थ बोेकेका गाडी जाँचपास भएर बेलुकीबाट जान थालेका छन्, मंगलबारबाट सबै काम सुरु हुन्छ ।
कर्मचारीले पेनडाउन गर्दै काम रोकेपछि सामान बोकेका करिब तीन दर्जन गाडी भन्सारपरिसरमा रोकिएका छन् । कैलाली भन्सार कार्यालयका सूचना अधिकारी हिम अर्यालले मंगलबारबाट कामकारबाही सुचारु हुने बताए ।
‘कुटपिटमा संलग्नलाई कारबाही गर्नुपर्यो भनेर सोमबार दिनभर जिल्ला प्रहरी कार्यालयतिरै व्यस्त भयौँ,’ उनले भने, ‘फलफूल, तरकारी र पेट्रोलियम पदार्थ बोेकेका गाडी जाँचपास भएर बेलुकीबाट जान थालेका छन्, मंगलबारबाट सबै काम सुरु हुन्छ ।’ अर्यालले करिब तीन दर्जन गाडी भन्सारमा रोकिएको बताए । कुटपिटमा संलग्न पक्राउ परिसकेकाले अब काम सुचारु हुने उनले बताए ।
कुटपिट घटनामा पाँचजना नगर प्रहरी पक्राउ
भन्सार प्रमुख तिम्सिनामाथि कुटपिट भएको घटनामा कैलाली प्रहरीले धनगढी उपमहानगरपालिकाका चारजना नगर प्रहरीलाई पक्राउ गरेको छ । नगर प्रहरी प्रमुख नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामी, उनका सवारीचालक रतन मल्ल, नगर प्रहरी हवल्दार मणिदत्त भट्ट र नगर प्रहरी जवान जितेन्द्रसिंह धामी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले धामीलाई कञ्चनपुरबाट र अन्य तीनजनालाई धनगढीबाट पक्राउ गरिएको बताए । कुटपिटमा संलग्नलाई अभद्र व्यवहारमा कारबाही प्रक्रिया अगाडि बढाएर जिल्ला प्रशासनबाट १० दिन थुनामा राख्ने अनुमति लिइएको उनले बताए । भन्सार प्रमुख तिम्सिनाले आफूमाथि कुटपिट गरेको भन्दै नगर प्रहरी प्रमुख धामीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आइतबार किटानी जाहेरी दिएका थिए । धामीसहितको टोलीले शनिबार राति भन्सार कार्यालयपरिसरमा भन्सार कार्यालय प्रमुख तिम्सिनालाई कुटपिट गरेको थियो ।
कार्यालयपरिसरमा तिम्सिनामाथि कुटपिट भएको सिसिटिभीको भिडियो सार्वजनिक भएको छ । नगर प्रहरी प्रमुख धामीले भने मदिरा सेवन गरेका भन्सार प्रमुखले अनावश्यक बखेडा झिकेर विवाद गरेको दाबी गरे । शनिबार राति एउटा स्कारपियोले धनगढी–अत्तरिया ६ लेन सडकको मिडियनमा लगाएको ब्यारियल भत्काएको सूचनापछि नगर प्रहरी प्रमुख धामीको टोली गाडीको खोजीका लागि भन्सार पुगेपछि कुटपिटको घटना भएको थियो ।