सहिद स्मारक ‘बी’ डिभिजन लिग : रेलिगेसनको दबाबमा नयाँबस्ती

मंगलबार, ३० बैशाख, २०८२
डिजिटल संस्करण

१४ टोली सहभागी ‘बी’ डिभिजन लिगमा सात हार व्यहोरेको नयाँबस्ती अंकतालिकाको पुछारमा 

सहिद स्मारक ‘बी’ डिभिजन लिगको ११ मध्ये सात खेलमा हार व्यहोरेपछि नयाँबस्ती युवा क्लबलाई रेलिगेसनको दबाब बढेको छ । एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा झापा एफसीले नयाँ वस्तीमाथि ३–१ को जित निकाल्यो । झापासँगको व्यहोरेको हारसँगै नयाँबस्तीमाथि रेलिगेसनको दबाब बढेको हो । १४ टोली सहभागी ‘बी’ डिभिजन लिगमा लगातार हारले नयाँबस्तीको यसै क्षेत्रमा रहने सम्भावना गणितीय आधार मात्र बाँकी रहेको छ । 

नयाँबस्ती आठ अंकका साथ तालिकाको पुछारमा छ । जितसँगै झापा ११ खेलमा १५ अंकका साथ पाँचौँ स्थानमा उक्लिएको छ । लिगको ११औँ चरण हुँदा शीर्ष स्थानको प्लानिङ ब्वाइज युनाइटेड ‘ए’ डिभिजनमा उक्लिन मात्र एक जित टाढा छ । प्लानिङले १० खेलबाट २४ अंक जोडेको छ । समान खेलबाट २२ अंक जोडेको श्री भगवती क्लब दोस्रो स्थानमा छ । ‘ए’ डिभिजनमा उक्लिन भगवतीलाई तीन खेलमा चार अंक आवश्यक छ । सरस्वती युवा क्लब ९ र नयाँबस्ती युवा क्लब ८ अंकका साथ तालिकाको पुछारमा छन् । झापालाई जित दिलाउन राजेश दाहालले दुई तथा बबिन बोहराले एक गोल गरेका थिए । नयाँबस्तीका लागि सुमन योङ्याले एक गोल फर्काएका हुन् । खेलको पाँचौँ मिनेटमा बबिनको गोलमा झापाले अग्रता लिएको थियो । खेलको ३९औँ मिनेटमा राजेशले २–० को सहज अवस्थामा पुर्याए । सुमनले ६८औँ मिनेटमा गोल गर्दै नयाँबस्तीलाई खेलमा फर्काउने प्रयास गरे । राजेशले ८५औँ मिनेटमा गोल गर्दै झापालाई सहज जित दिलाउन सफल भएका हुन् । 

आरसिटीको अवस्था सहज बन्दै
लगातार जितसँगै रानीपोखरी कर्नर टिम (आरसिटी) ‘बी’ डिभिजन लिगको सहज अवस्थामा पुगेको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग ६ पटक जितेको आरसिटी कुनै समयमा रेलिगेसनमा पर्ने सम्भावना थियो । लगातार जितपछि आरसिटी सहज अवस्थामा आफूलाई पुर्याएको छ । सोमबार भएको खेलमा आरसिटीले ब्रिगेड ब्वाइज क्लब (बिबिसी)लाई २–१ ले हरायो । आरसिटीका लागि अजित गुरुङ र निखिल तामाङले गोल गरेका थिए । बिबिसीका लागि अभिषेक रानामगरले एक गोल फर्काए । 

जितसँगै आरसिटी रेलिगेसन खतराबाट अगाडि बढेको छ । आरसिटी १४ अंकका साथ सातौँ स्थानमा उक्लियो । हारले बिबिसीलाई रेलिगेसन मन्डराएको छ । बिबिसी १२ अंक जोड्दै १०औँ स्थानमा छ । दुई खेल बाँकी रहँदा बिबिसीलाई बाँकी दुई खेल जित्नैपर्ने दबाब छ । खेलको १४औँ मिनेटमा अजितले आरसिटीलाई अग्रता दिलाएका थिए । ८२औँ मिनेटमा निखिलले अग्रतालाई दोब्बर बनाए । इन्जुरी समयमा अभिषेकले एक गोल फर्काएका हुन् । 

सुझावित समाचार