‘अमेरिकी करले गरिब राष्ट्रलाई असर’

आइतबार, ३१ चैत, २०८१
डिजिटल संस्करण

चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओले अमेरिकी करवृद्धिले गरिब राष्ट्रलाई ‘गम्भीर क्षति’ पुर्याउने बताएका छन् । विश्व व्यापार संगठन (डब्लुटिओ) का प्रमुखसँगको भेटमा वाणिज्यमन्त्री बाङले उक्त धारणा राखेका हुन् ।

वासिंटन र बेइजिङले यो महिना एक–आपसमा अतिरिक्त कर लगाउने घोषणा गरिरहेका छन् । यसै सिलसिलामा अहिलेसम्म अमेरिकाले चिनियाँ सामानको आयातमा १४५ प्रतिशत अतिरिक्त कर लगाएको छ भने बदलामा चीनले अमेरिकी सामानको आयातमा १२५ प्रतिशत कर लगाएको छ । यसले विश्वका दुई ठुला अर्थतन्त्रबिच व्यापार युद्ध चर्किने डर बढाएको छ । भन्सार बढाउने प्रतिस्पर्धाको प्रत्यक्ष असर विश्वको सेयर बजारमा परेको र यसले सेयर कारोबारलाई अस्तव्यस्त बनाएको छ ।

अर्थशास्त्रीहरूले अमेरिका र चिनियाँ अर्थतन्त्रबिचको व्यापारमा आएको अवरोधले उपभोक्ताका लागि मूल्यवृद्धि हुने र यसले विश्वव्यापी मन्दी निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

‘अमेरिकी कर नीतिका कारण आउने नतिजाले विशेषगरी अल्पविकसित देशलाई गम्भीर क्षति पुर्याउनेछ र मानवीय संकटसमेत निम्त्याउन सक्छ,’ वाङले डब्ल्युटिओका प्रमुख नगोजी ओकोन्जो–इवेलासँग भने । अमेरिकाले निरन्तर कर वृद्धिको बाटोलाई पछ्याएको छ, जसले विश्वमा ठुलो अनिश्चितता र अस्थिरता ल्याएको छ । यसले अन्तर्राष्ट्रिय अराजकता निम्त्याएको र अमेरिकाभित्र पनि अन्योल निम्त्याएको छ,’ वाङले भने ।

बेइजिङले शुक्रबार अमेरिकी सामानमा लगाएको १२५ प्रतिशत कर शनिबारदेखि लागू हुने बताएको छ, जुन वासिंटनले अमेरिका प्रवेश गर्ने चिनियाँ सामानमा लगाएको १४५ प्रतिशत करसँग मिल्दोजुल्दो छ । तर, चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको थप करलाई बेवास्ता गर्ने संकेत गरेको छ । बेइजिङले भनेको छ, ‘अत्यधिक कर वृद्धिपछि आयातकर्ताले अमेरिकामा चिनियाँ सामान खरिद गर्नुको अब आर्थिक अर्थ रहँदैन ।’

सुझावित समाचार