- पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबिच भिडन्त
भद्रपुर झापा गोल्डकपको फाइनलमा शुक्रबार दुई झापाली टोलीबिच प्रतिस्पर्धा हुँदै छ । ‘बी’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । मेची रंगशालामा जसले जित निकाले पनि उपाधि घरेलु टोलीले जित्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबिच उपाधि भिडन्त हुन लागेको हो ।
दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली टोली फाइनलमा पुगेका छन्,’ आयोजकका अध्यक्ष दीपेश ढकालले बिहीबार प्रिम्याच कन्फ्रेन्समा भने, ‘विदेशी र ‘ए’ डिभिजन क्लबलाई नै हराउँदै यी दुई टोली फाइनलमा पुगेका हुन्, यसमा सबै झापाली खुसी छौँ ।’ झापा ११ ले अहिलेसम्म गृहजिल्लामा गोल्डकप उपाधि हात पार्न सकेको छैन । झापा गोल्डकपमा पटक–पटक फाइनलमा पुगेर पनि झापा ११ उपविजेतामै सीमित भएको छ ।
झापा ११ गृहजिल्लामा उपाधिको खडेरी तोड्दै दाउमा छ । आयोजक भद्रपुर उपाधिमाथि कब्जा जमाउने योजनामा छ । झापा ११ ले प्रतियोगितालाई ‘बी’ डिभिजन तयारीका रूपमा लिएको छ । ‘दर्शकलाई राम्रो खेल प्रदर्शन गर्दै उपाधि जित्ने योजनामा छौँ,’ झापा ११ का प्रशिक्षक अंगुर खड्गीले भने, ‘खेलको अवस्था हेरेर रणनीति बनाउँदै खेल खेल्नेछौँ, खेलाडी फाइनलका लागि तयार छन् ।’
झापा ११ मा अनुभवी खेलाडी
प्रतियोगितामा झापाले एरोन थापा र एलोन थापालाई समावेश गरेको छ । सेमिफाइनलदेखि समीर तामाङ र रोहन कार्की सम्मिलित भएका छन् । यी दुवै खेलाडी चर्च ब्वाइज युनाइटेडबाट खेल्छन् । झापा ११ का कप्तान पेमा तामाङले टिम सेट बनाउन लगातार दुई वर्षदेखि प्रशिक्षण गरिरहेको बताए । ‘हामीले दुई वर्षदेखि सँगै खेल्दै आइरहेका छौँ, एक–अर्काको क्षमता थाहा छ,’ तामाङले भने, ‘एलोन, एरोन, समीर र रोहन आउँदा फाइदा भएको छ ।’
भद्रपुरले घरेलु फुटबलमा राम्रो खेल खेलिरहेका खेलाडीलाई टोलीमा समावेश गरेको छ । स्तरीय विदेशी खेलाडीसहित रहेको यस टोलीले फाइनलमा झापालाई चुनौती दिने अपेक्षा छ । ‘हामीसँग व्यावसायिक फुटबल खेलेका खेलाडी छन्, उनीहरू एकआपसमा संगठित भएर खेल्छन्,’ भद्रपुरका कप्तान आशिष चापागाईंले भने, ‘हामी राम्रो प्रदर्शन गर्छौँ ।’
भद्रपुरका प्रशिक्षक अर्जुन राईले फाइनलका लागि खेलाडी तयार रहेको बताए । ‘आयोजक भएकाले घरेलु दर्शकको साथ पाउने आशा छ,’ उनले भने, ‘झापा ११ को खेल हेरेका छौँ । उनीहरूको कमजोरी थाहा छ । त्यहीअनुसार योजना बनाएर खेल्छौँ ।’ विजेताले १३ लाख र उपविजेताले सात लाख रुपैयाँ हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले समान २५ हजार रुपैयाँ पाउनेछन् ।