थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले देशको दक्षिणी भागमा दुई दशकअघि सैनिक ट्रकहरूमा कोचिएर धेरै मुस्लिम प्रदर्शनकारीको मृत्यु भएकामा आइतबार माफी मागेका छन् । ‘ताक बाई नरसंहार’का रूपमा चिनिने यो घटनामा उनले सार्वजनिक रूपमा पहिलोपटक माफी मागेका हुन् । हद म्याद सकिएको र सात जना शंकास्पद व्यक्तिविरुद्धको हत्या मुद्दा खारेज भएको लगभग चार महिनापछि उनले माफी मागेका हुन् ।
यो नरसंहार लामो समयदेखि थाइल्यान्डको मुस्लिम बहुल दक्षिणी प्रान्तहरूमा राज्यको दण्डहीनताको प्रतीकका रूपमा रहँदै आएको छ । ती प्रान्तमा बौद्ध बहुल देशबाट सांस्कृतिक र धार्मिक रूपमा भिन्न क्षेत्रका लागि अधिक स्वायत्तता खोज्ने सरकारी सेना र पृथक्तावादीबिच वर्षौँदेखि विद्रोह जारी छ ।
नरसंहारको समयमा प्रधानमन्त्री रहेका थाक्सिनले आइतबार आफूले मानिसहरूलाई ‘असहज महसुस गराउने’ कुनै पनि कार्यका लागि माफी माग्न चाहेको बताए ।