दीपा र हिराको स्थानमा मनमाया र सुष्मालाई अवसर

बिहिबार, १ फागुन, २०८१
डिजिटल संस्करण

घाइते दीपा शाही र हिराकुमारी भुजेलको स्थानमा मनमाया दमाईं र सुष्मा तामाङलाई समेट्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ । 

बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले फोर नेसन्स कपका लागि २३ सदस्यीय टिम घोषणा गरेको हो । टोलीमा पहिलोपटक एपिएफ क्लबकी रक्षक मनमाया र वालिङ नगरपालिकाबाट खेलेकी मिडफिल्डर सुष्माले पहिलोपटक स्थान बनाए । 

स्ट्राइकर चन्द्रा भण्डारी र मिडफिल्डर सरस्वती हमालले वाफ च्याम्पियनसिपपछि कमब्याक गरेका छन् । वाफमा टिममा रहेका चन्द्रा र सरस्वतीले साफ महिला च्याम्पियनसिपमा भने टोलीमा स्थान बनाएनन् । साफमा घाइते भएका दीपा र हिराले भने टिम गुमाउनेछन् । दुवै प्रतियोगितामा रहेकी अमिषा कार्की पनि सेनाको सहायक सेनानीको तालिममा रहँदा टिममा हुने छैनन् ।  

यसअघि ३० सदस्यीयबाट गोलकिपर सावित्री किसन र सुजता तामाङ बाहिर रहे । महिला राष्ट्रिय लिगमा सर्वाेत्कृष्ट गोलकिपर घोषित भएकी किसनलाई प्रशिक्षक राजेन्द्र तामाङले टिममा स्थान दिएनन् । उनले गोलकिपरमा कप्तान अञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर र उषा नाथलाई नै अवसर दिएका हुन् । 

डिफेन्डरमा अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे र मनमाया रहेका छन् । लिगमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी राइट ब्याक प्रतीक्षा चौधरीले पनि स्थान बनाइनन् । 

मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर, रेनुका नगरकोटी, सरस्वती हमाल, विमला चौधरी र सुष्मा छन् । मिडफिल्डरमा सजनी थोकर, सम्झना लावती, बिर्सना चौधरी, प्रतीक्षा चौधरी र ममता पुन बाहिरिए । स्ट्राइकरमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् । 

फिफा अन्तर्राष्ट्रिय विन्डोअन्तर्गत हुने तय भएको फोर नेसन्समा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेवनान सहभागी छन् । 

दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपालले फागुन ५ गते किर्गिस्तान, दोस्रो फागुन ८ मा लेवनान र तेस्रो खेल ११ फागुनमा हुनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

सुझावित समाचार