दोलखा कालिन्चोक गाउँपालिका–९ सुन्द्रावतीका रामबहादुर थामीले खर्च अभाव हुँदा छोरा रामकुमार थामीको उपचार गर्न सकिरहेका छैनन्। रामकुमारमा आर्टिल सेप्टल डिफेक्ट (मुटुमा प्वाल) को समस्या छ।
बाबु रामबहादुरका अनुसार उनको बाँसबारीस्थित गंगालाल अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकले जति सक्दो चाँडो उनको मुटुको सर्जिरी गर्न भनेको छ। यसका लागि आगामी २४ माघमा अस्पताल भर्ना हुन भनेको छ। तर, रकम अभाव हुँदा छोरालाई अस्पताल भर्ना गर्न सक्ने अवस्थामा रामबहादुर छैनन्। उपचारका लागि चिकित्सकले तीन देखि ५ लाख लाग्ने भनेको छ।
रामबहादुरले भने, ‘छोराको मुटुमा प्वाल रहेछ। जति सक्दो चाँडो अपरेसन गर्न भनेको छ। २४ माघमा अस्पताल भर्ना गर्नुपर्नेछ। तर, खर्च छैन। ३ देखि ५ लाख रुपैयाँ लाग्ने भनेको छ। मैले यति रकम कहाँबाट जोहो गरौँ। केही सोच्न सकेको छैन।’
२० वर्षीय रामकुमार वैदेशिक रोजगारमा जाने तयारीमा थिए। सोही क्रममा स्वाथ्य परीक्षणका लागि अस्पताल जाँदा मुटुमा प्वाल देखिएको थियो। रामकुमार रामबहादुरका एक्ला छोरा हुन्। आर्थिक उपार्जन गर्ने उनीसँग कुनै स्रोत छैन।
बाबु रामबहादुरले छोराको उपचारमा सहयोग गरिदिन अपिल गरेका छन्।