संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मूल प्रतिस्पर्धी नेकपा एमालेसँगको गठबन्धन अवसर र चुनौती दुवै रहेको बताएका छन्।
शनिबार राष्ट्रिय लोकतान्त्रिक अपांग संघ धादिङको दोस्रो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले एमालेसँग सहकार्य र प्रतिस्पर्धा दुवै रहेको बताएका हुन्। 'एमालेसँग सहकार्य र प्रतिस्पर्धा दुवै हुन्छ। २०८४ सम्म यही गठबन्धन गरेर लैजान सहकार्य हुन्छ। सुशासन, भ्रष्टचार न्यूनीकरण र सरकारलाई स्थायित्व दिन गठबन्धन आवश्यक छ,' उनले भने- '२०८४ को निर्वाचनमा प्रतिस्पर्धा अवश्यभावी छ। वडादेखि प्रधानमन्त्रीसम्म कसले राम्रो काम गर्यो भनेर प्रतिस्पर्धा हुन्छ। अनि चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ। त्यसैले, पार्टीलाई सुदृढीकरण, बलियो र मज्बुत बनाएर लैजानुपर्छ । यसमा सबै लागौँ।'
त्यस्तै, संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गरिरहेको उनले बताए। 'नेपाल विविधतापूर्ण संस्कृति र प्रकृतिको देश भएकाले नेपालको पर्यटनको प्रचारप्रसारलाई तीव्र बनाउनुपर्छ। नेपालको पर्यटन क्षेत्रमा ठुलो लगानीसँगै लाखौँ पर्यटक भित्र्याउने अवसर रहेको छ,' उनले भने, ‘नेपालको पर्यटन क्षेत्रमा ठुलो लगानीसँगै लाखौँ पर्यटक भित्र्याउनुपर्नेछ। हामीसँग जोडिएका संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने दिशामा हामी तत्परताका साथ लागिरहेका छौँ। प्रधानमन्त्री, अर्थमन्त्री, कानुनमन्त्रीसहित पर्यटनसँग जोडिएका मन्त्रालयहरूसँग समन्वय गरेर १० वर्षे कार्ययोजना तयार गरेर नेपालको पर्यटन क्षेत्रमार्फत नेपालको अर्थतन्त्रमा योगदान हुने गरी मन्त्रालयले काम गरिरहेको छ।’
निष्ठा र इमानको राजनीतिलाई कुनै पनि किसिमको कलंक नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवामा आफू लागिरहेको उनले बताए।