प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘थ्रेसहोल्ड’ या अन्य कुनै नाममा दुईदलीय तानाशाही लाद्ने परिकल्पना संविधानले नगरेको प्रस्ट पारेका छन्। शुक्रबार विपक्षी ६ दलको संयुक्त प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
संविधानले बहुदलीय प्रतिस्पर्धालाई लोकतन्त्रको एक महत्त्वपूर्ण अन्तरवस्तुका रूपमा आत्मसात् गरेको उल्लेख गर्दै प्रचण्डले भने, ‘थ्रेसहोल्ड या अन्य कुनै नाममा दुईदलीय तानाशाही लाद्ने परिकल्पना संविधानले गरेको छैन। तर, स्वेच्छाचारी र तानाशाही ढंगले सत्तामा टिकिराख्न र विपक्षी दलहरूलाई फुटाउन राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने पटक–पटकको कसरतले नेपाली जनताले विभिन्न संघर्षबाट प्राप्त गरेका ऐतिहासिक उपलब्धि खोसिनेसम्मको परिस्थिति देखा परिरहेको छ।’
फरक मत र विविधताको सम्मान नै लोकतन्त्रको सुन्दरता रहेको प्रस्ट्याउँदै प्रचण्डले कुनै पनि बहानामा निरंकुशता, स्वेच्छाचारिता र तानाशाही सिर्जना गर्ने सरकारका कदमहरूको विरोध गर्ने चेतावनी दिए।