एमाले नेता पोखरेलका निवर्तमान स्वकीय सचिवविरुद्ध किटानी जाहेरी

सोमबार, २२ पुष, २०८१
डिजिटल संस्करण
एमाले नेता पोखरेलका निवर्तमान स्वकीय सचिवविरुद्ध किटानी जाहेरी

एमाले नेता ऋषिकेश पोखरेल (दायाँ) र उनका निवर्तमान स्वकीय सचिव अनिल पोखरेल (बायाँ)

एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका निवर्तमान स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध ३८ लाख ८० हजार ठगी गरी आपराधिक लाभ लिएको आरोपमा किटानी जाहेरी परेको छ । ऋषिकेश एमाले मोरङको अध्यक्ष रहेकै वेला ०७८ पुसमै अनिलविरुद्ध पार्टीमा उजुरी परे पनि गुपचुप राखी उल्टै उनले स्वकीय सचिव बनाएर पुरस्कृत गरेका थिए ।

उच्च अदालत विराटनगरले पोखरेलविरुद्धको उजुरी दर्ता गर्न परमादेश नै जारी गरेपछि पीडित सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका– ५ का बौआलाल चौधरीले आइतबार दिएको किटानी जाहेरी मोरङ प्रहरीले दर्ता गरेको हो । छोरी दीक्षालाई एमबिबिएसको इन्ट्रान्समा नाम निकालिदिने भन्दै लिएको ३८ लाख ८० हजार फिर्ता नगरेको र उल्टै ५० लाखको तमसुक बनाएको भन्दै बौआलालले एमाले मोरङदेखि प्रहरीसम्ममा उजुरी दिएका थिए । चौधरीले सुरुमा इलाका प्रहरी कार्यालय रंगेली र पछि हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन । जिल्ला प्रहरीले त उजुरीको रेकर्ड नै गायब बनाएको थियो । त्यसपछि चौधरीले अदालतको ढोका ढकढक्याएका थिए । उजुरी अघि बढाउन उच्च अदालत विराटनगरले ३१ भदौ ०८१ मा जारी गरेको परमादेश ११ पुसमा प्रमाणीकरण भएसँगै आइतबार प्रहरीमा पुगेको हो ।

ठगी गरी आपराधिक लाभ लिएको कसुरमा पोखरेलविरुद्ध उजुरी आएको र अनुसन्धान अगाडि बढाइएको मोरङका एसपी नारायणप्रसाद चिमोरियाले बताए । आपराधिक लाभ लिएको किटानी जाहेरी दर्ता भइसकेकाले अब प्रहरीले अनिललाई पक्राउ गरेर मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाउनुपर्ने बौआलालका कानुन व्यवसायी दुर्गा पोखरेलले बताए । वरिष्ठ कृषि प्रसार अधिकृतबाट अवकाश पाएका बौआलाललाई छोरीको एमबिबिएसमा नाम निकालिदिने भनेर चिनजानका व्यक्तिमार्फत विश्वासमा पारी ०७१ देखि ०७३ सम्म अनिलले पटक–पटक गरेर ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए ।  अदालतले ३१ भदौ ०८१ मा परमादेश जारी गरेपछि मात्रै ऋषिकेशले उनलाई पिएबाट हटाएका थिए ।

सुझावित समाचार