मानिसलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका एक व्यक्ति पक्राउ

शुक्रबार, २८ मंसिर, २०८१
डिजिटल संस्करण

मानिसलाई पेट्रोल छर्की आगो लगाई फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ स्थायी घर भई कास्कीको पोखरा महानगरपालिका– १३ काहुखोला बस्ने ३१ वर्षका उमेश राई रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

शर्माका अनुसार कास्कीको मादी गाउँपालिका– ५ ठुलास्वारा बस्ने ४८ वर्षका दुर्गाबहादुर गुरुङलाई आफ्नै घरबाहिर पेट्रोल छर्केर आगो लगाई घाइते बनाएको भन्ने सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयबाट समेत प्रहरी टोली खटिएर गएको थियो। घाइते भएका गुरुङलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेकोमा त्यहाँबाट मणिपाल रिफर गरी पुनः थप उपचारको लागि कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको र उनको उपचार भइरहेको शर्माले जानकारी दिए।

घटनास्थलमा खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धानसँगै पेट्रोल छर्किएर फरार रहेका राईको खोजी गर्ने क्रममा मादी गाउँपालिका– ५ सुनपदेँलीस्थित पुरानो स्कुलमा लुकिछिपी बसेको अवस्थामा शुक्रबार फेला पारेको थियो। पक्राउ परेका राईको साथबाट प्रहरीले लाइटर तीन थान, बोतल एक थान, मोबाइल तीन थान र लाइसेन्स एक थानसमेत बरामद गरेको शर्माले जानकारी दिए।

पक्राउ परेका राईलाई प्रहरीले कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा शुक्रबार पाँच दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।

सुझावित समाचार