सहरी जनमत घटेको एमालेको समीक्षा- ‘प्रधानमन्त्री ओलीको चीन भ्रमण दीर्घकालीन हिसाबले उपलब्धिपूर्ण’

बुधबार, २६ मंसिर, २०८१
डिजिटल संस्करण

एमालेले सहरी क्षेत्रको जनमतसँग पार्टीलाई जोडेर लैजानुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले १६ मंसिरमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामको समीक्षापछि त्यस्तो निष्कर्ष निकालेको हो । सहरी क्षेत्रमा पार्टीको जनमत खस्किँदै गएको स्वीकार्दै एमालेले सम्पूर्ण ध्यान सहरी क्षेत्रमा लगाउनुपर्ने निष्कर्ष निकालेको हो ।

कीर्तिपुर नगर प्रमुख र काठमाडौं– १६ जित्ने सूचीमा राखे पनि एमाले उम्मेदवारले तेस्रो स्थान प्राप्त गरेका थिए । ‘खासगरी कीर्तिपुर नगरपालिका, काठमाडौं– १६ र कीर्तिपुरका केही वडा रहेका सहरी क्षेत्रमा हामीले जे अपेक्षा गरेका थियौँ, त्यसअनुसार परिणाम आउन नसकेकोमा गम्भीर भएका छौँ । त्यसैले अझ बढी सहरी जनमतसँग पार्टीलाई जोडेर लैजानुपर्ने निष्कर्ष निकालेका छौँ,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने । 

समग्रतामा भने उपनिर्वाचनबाट थप उपलब्धि हासिल भएको एमालेले मूल्यांकन गरेको छ । ०७९ को निर्वाचनमा सातवटा वडामा प्रतिनिधित्व भएकोमा ४२ सिटमा भएको निर्वाचनमा एक अध्यक्ष, दुई उपाध्यक्षसहित आठ सिटमा विजय हासिल गरिएकाले समग्रतामा भने थप उपलब्धिकै रूपमा लिइएको पनि ज्ञवालीले बताए । तर, अघिल्लो निर्वाचनमा जितेका अधिकांश वडाको नेतृत्व प्रमुख दलले गुमाएको स्थिति हेर्दा जनमत परिवर्तन भएको देखिएकाले जनप्रतिनिधिले राम्रोसँग काम गर्न नसकेको पनि उसले समीक्षा गरेको छ । 

‘दुई वर्षको बिचमा प्रायः जुन पार्टीले जितेको छ, परिणाम फरक आएर स्थानीय तहमा जनमत परिवर्तन भएको छ । के कारणले जनप्रतिनिधिले प्रभाव छोड्न सकेनन्, अर्कोले जित्ने जुन हिसाबले मत परिवर्तनलाई गम्भीरतापूर्वक लिएर जनताको मत जित्ने गरी जनप्रतिनिधिले काम गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ,’ ज्ञवालीले भने । एमालेले अघिल्लो निर्वाचनमा जितेका सातमध्ये एक वडामा मात्र जित दोहोर्‍याएर बाँकी ६ वटा वडा गुमाएको थियो । कांग्रेस र माओवादीले पनि पुराना वडा गुमाएर नयाँमा जित हासिल गरेका छन् । 

एमालेले प्रधानमन्त्री केपी ओलीको १६–१९ मंसिरसम्म सम्पन्न चीन भ्रमण र त्यसक्रममा भएका दुई देशबिचको सम्झौताको पनि समीक्षा गर्दै दीर्घकालीन हिसाबले निकै उपलब्धिपूर्ण भएको निष्कर्ष निकालेको छ । ‘मूलतः चीन भ्रमण, भ्रमणमा भएका सहमति र त्यसले नेपालको समग्र विकास र नेपाल–चीन सम्बन्धमा पार्ने प्रभावहरूको समीक्षा गर्‍यौँ र भ्रमण निकै सफल रहेको निष्कर्ष निकाल्यौँ,’ बैठकको निष्कर्ष छ, ‘अन्य सहमतिको अतिरिक्त बिआरआई परियोजना कार्यान्वयन फ्रेमवर्कमा भएको सम्झौता नेपालको दीर्घकालीन विकासका लागि निकै उपलब्धिपूर्ण भएको बैठकले निष्कर्ष निकालेको छ ।’

चीनसँग बिआरआई कार्यान्वयनका सवालमा नयाँ समझदारी गर्ने क्रममा सत्तासाझेदार कांग्रेस र एमालेबिच भएको उच्चस्तरको समझदारी परराष्ट्र नीति सञ्चालनमा राष्ट्रिय सहमति निर्माणको आधार बनेको समेत बैठकको निष्कर्ष छ । ‘सत्ताको नेतृत्व गर्ने दुई महत्वपूर्ण पार्टीबिच भएको समझदारीले बिआरआईलाई निष्कर्षमा पुर्‍याउन निर्णायक भूमिका खेलेको छ नै । भोलिका दिनमा परराष्ट्र नीति सञ्चालन गर्दा दिगोपन, राष्ट्रिय सहमति निर्माण हुने आधार पनि सिर्जना गरेको छ,’ एमालेले भनेको छ ।

See More On

सुझावित समाचार