सहकारी ठगी प्रकरणमा बयानका लागि पर्सा पुगे रवि

राज्यले प्रतिशाेध साँधेकाे भन्दै रास्वपा कार्यकर्ताकाे विराेध प्रदर्शन

सोमबार, २४ मंसिर, २०८१
डिजिटल संस्करण

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पर्सा प्रहरीको हिरासतमा पुगेका छन्। गत १९ मंसिरमा उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सोमबार बयानका पर्सा प्रहरीको हिरासतमा ल्याइएकाे हाे।

उनलाई कास्की प्रहरीको हिरासतबाट काठमाडौं हुँदै बाराको सिमरा विमानस्थल ल्याइएको थियो। सिमराबाट स्थलमार्ग हुँदै पर्सा प्रहरीको हिरासतमा पुर्याइएको हो। लामिछाने पर्सामा आउनुपूर्व रास्वपाका नेता-कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्। साँझसम्मै प्रदर्शन जारी छ। 

वीरगन्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएपछि लामिछानेलाई पर्सामा पनि प्रहरीले अनुसन्धान गर्न लागेको हो। पर्सा प्रहरी स्रोतका अनुसार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न बुधबार जिल्ला अदालत, पर्साले पक्राउ अनुमति दिएको हो।

गत २ कात्तिकमा पक्राउ परेका लामिछानेको हाल कास्कीमा पनि बयान भइरहेको छ। पर्सामा गीतेन्द्रबाबु राई, छविलाल जोशीलगायतविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। पर्साका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि अनुसन्धानको लागि पर्सा ल्याएको बताए। 

सानो पाइला सहकारीको रकम हिनामिनामा एक चरणमा अनुसन्धान गरी प्रहरीले गत वर्ष नै मुद्दा दायर गरिसकेको छ। संसदीय विशेष छानबिन समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान हुन लागेको हो। जिबी राई समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो। लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा उनले खर्च गरेका थिए।

सोही आधारमा उनी अनुसन्धानमा तानिएका हुन्। सहकारीको रकम अपचलनमा संलग्न नभए पनि गोर्खा मिडियाको सञ्चालक भएकै आधारमा पक्राउ गरेर अनेक मुद्दा चलाउन लागिएको भन्दै रास्वपाले राजनीतिक प्रतिशोधको आरोप लगाउँदै आएको छ। 

यसअघि नै सहकारी ठगी प्रकरणका पूर्वडिआइजी छवि जोशी पर्सा प्रहरीको हिरासतमा पुगिसकेका छन्।

सुझावित समाचार