उपनिर्वाचनको परिणाम माओवादीका लागि उत्साहजनक : प्रचण्ड

मंगलबार, १८ मंसिर, २०८१
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही मंसिर १६ गते भएको उपनिर्वाचनको परिणाम आफूहरूका लागि उत्साहजनक भएको बताएका छन्।

मंगलबार एक प्रेस व्यक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले उपनिर्वाचनको परिणाम माओवादीका लागि उत्साहजनक भएको बताएका हुन् । ‘निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ,’ उनले भने, ‘विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ । यसबाट हाम्रो पार्टीले अघि सारेका एजेन्डा र अघि बढाउन खोजेको अभियान जनताले अनुमोदन गरेको पुष्टि भएको छ ।’

यो निर्वाचनलाई माओवादीले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा नयाँ संकल्पका रूपमा लिँदा सफलता हात पारेको बताएका छन्। ‘हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ संकल्पको रूपमा लिएको थियो,’ उनले भनेका छन्, ‘खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई जनस्तरसम्म पुर्याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रूपमा उपनिर्वाचनलाई लिएका थियौँ ।’

यो उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई पार्टीले आफ्नो एजेन्डा र आफ्नै एकल पहिचानका साथ प्रतिस्पर्धा गर्न प्राप्त गरेको जनादेशको रूपमा लिने प्रचण्डको भनाइ छ । यो अपार जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउनेसमेत उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।    

उनले नेपाली जनताले गरेका विभिन्न आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउने कुरामा पार्टीले भूमिका खेल्ने बताएका छन् । ‘हाम्रो पार्टीले नेतृत्व गरेका स्थानीय तहहरूले उत्कृष्ट कार्य सम्पादन गर्दै आएका छन्, आगामी दिनमा यसलाई बढाउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेन्डामा केन्द्रित रहेर हाम्रा सबै जनप्रतिनिधिलाई पूर्ण रूपमा जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध रहेको छ,’ उनले भनेका छन् ।

प्रचण्डले स्थानीय तह उपनिर्वाचन २०८१ मा आफ्नाे पार्टीलाई अमूल्य मतदान गर्ने सम्पूर्ण मतदाताहरूप्रति आभार व्यक्त गरेका छन्। उनले निर्वाचित सबै जनप्रतिनिधिहरूलाई हार्दिक बधाई ज्ञापन पनि गरेका छन् । 

सुझावित समाचार