पदाधिकारीका लागि गाडी किन्दै संसद् सचिवालय

राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, उपसभामुखसहितका पदाधिकारीलाई आठवटा विद्युतीय कार खरिदका लागि टेन्डर आह्वान

बुधबार, २३ असोज, २०८१
डिजिटल संस्करण

संघीय संसद् सचिवालयले संसद्का पदाधिकारी तथा कर्मचारीका लागि गाडी किन्ने प्रक्रिया अगाडि बढाएको छ । करिब ५४ लाख रुपैयाँको मोटरसाइकल र स्कुटी खरिद गरिसकेको छ । संसद्को आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाअन्तर्गतको सवारीसाधन व्यवस्थापन शाखाका अनुसार १२ वटा स्कुटर र १० वटा मोटरसाइकल ठेक्का प्रणालीबाट खरिद गरिएको हो । खरिद गरिएका सवारी उपसचिवदेखि शाखा अधिकृतसम्म संसद् सचिवालयका कर्मचारीलाई वितरण गरिएको छ । 

महाशाखा प्रमुख सुरजकुमार दुराले करिब ५४ लाखबराबरको सवारी ठेक्का प्रणालीमार्फत खरिद गरेर आवश्यकताका आधारमा कर्मचारीलाई वितरण गरिएको बताए । उनका अनुसार टिभिएस कम्पनीको स्कुटर र बजाज कम्पनीको मोटरसाइकल खरिद गरिएको हो । 

सरकारले आर्थिक वर्ष ०८१/८२ का लागि सवारीसाधन शीर्षकमा संसद् सचिवालयलाई चार करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये ५४ लाखको खरिद गरिसकेको हो । मोटरसाइकल र स्कुटी एक लाख ९९ हजारदेखि दुई लाख २७ सम्मको मूल्यमा खरिद गरिएको सवारी शाखाले जनाएको छ । 

संसद् सचिवालयले साढे तीन करोड रुपैयाँमा आठवटा कार खरिद गर्दै छ । यसका लागि सोमबार आह्वान भइसकेको छ । योजना व्यवस्थापन महाशाखा प्रमुख दुराले बाँकी रहेको तीन करोड ६० लाख बजेटमा आठवटा कार खरिद गर्न टेन्डर आह्वान गरिएको बताए । 

आठवटा कारमा राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा उपसभामुख, एकजना पूर्वभिभिआइपी र चारवटा सचिवालय प्रयोजनका लागि खरिद गर्न लागिएको हो । सचिवालयमा तीनवटा सहसचिव र एकजना अन्यले कार चढ्नेछन् । 
आठवटै विद्युतीय कार हुनेछन् । इभी गाडीका कम्पनीहरूले बोल बढाबढ गरेर टेन्डर दाबी गर्नेछन् । आवेदनका लागि गाडीको निश्चित मापदण्ड तोकिएको दुराले बताए । ‘मापदण्ड पूरा गर्ने र न्यून मूल्य कबोल गर्ने इभी कम्पनीले ठेक्क पाउँछ । दसैँलगत्तै नयाँ गाडी आउँछन्,’ उनले भने । यसगैरी, चीनबाट दुइटा बस पनि आउँदै छन् ।

उपसभामुख इन्दिरा रानाको भ्रमणका वेला चीनसँग दुइटा बस सहयोग गर्ने सम्झौता भएको थियो । सवारी शाखाका अनुसार दुइटा बस दिने भनिए पनि सम्झौताले मूर्त रूप लिइसकेको छैन । अब दसैँ–तिहारपछि संसद् सचिवालयका कर्मचारी बोक्ने बस प्राप्त हुने अपेक्षा सचिवालयका पदाधिकारीको छ । 

सुझावित समाचार