इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेको इजरायली सेनाले बताएको छ । इरानी मिसाइल इजरायली आकाशमा प्रवेश गरेपछि देशभर हवाई आक्रमणको चेतावनी दिने साइरन बजेका थिए भने इजरायलीहरू सुरक्षित आश्रयतर्फ भागेका थिए । सेनाले आक्रमणअघि नै इरानबाट कुनै पनि ब्यालेस्टिक मिसाइल आक्रमण हुने ठुलो सम्भावना रहेको चेतावनी दिँदै आममानिसलाई सुरक्षित स्थानमा आश्रय दिन सतर्क गराएको थियो ।
इरानको ‘रिभोलुसनरी गार्डस्’ले इजरायलमाथिको मिसाइल आक्रमण गत हप्ता हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको साथै यस वर्षको सुरुमा हमास नेता इस्माइल हनियाहको हत्याको जवाफमा भएको बताएको छ । इरानको समाचार ऐजेन्सीले रिपोर्ट गरेको छ, ‘इस्माइल हनियाह, हसन नसरल्लाह र रिभोलुस्नरी गार्डस्का कमान्डर निलफोरोसनको शहादतको प्रतिक्रियामा हामीले कब्जा गरिएको क्षेत्रको केन्द्रलाई निसाना बनायौँ,’ आइआरजिसीले एक विज्ञप्तिमा भन्यो ।
इरानले इजरायलमा दशौँ मिसाइल प्रहार गरेको बताउँदै इजरायलले जवाफी आक्रमण गरे तेहरानको ‘थप विनाशकारी’ प्रहार गर्ने चेतावनी दिएको छ । इजरायलमा क्षेप्यास्त्र प्रहार गर्ने आदेश देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी स्वयंले दिएको एक वरिष्ठ इरानी अधिकारीले रोयटर्स समाचार एजेन्सीलाई बताए ।
यसैबीच, तेलअभिब क्षेत्रमा केही समयका लागि साइरन बजेको इजरायली मिडियाले बताएका छन् । ‘हामी रक्षा मन्त्रालय र इजरायली सैन्य मुख्यालयबाट टाढा छैनौँ र हामी अझै पनि तेलअभिबमा साइरन सुनिरहेका छौँ,’ एक स्थानीयले अल जजिरालाई भने, ‘जबसम्म युद्ध जारी रहन्छ हामी वास्तविक अर्थमा सुरक्षित हुने छैनौँ । सुरक्षित कोठा र घरमा आश्रयस्थल भएकालाई त्यहाँ जना स्पष्ट निर्देशन दिइएको छ ।’
इरानले लेबनानमा स्थल आक्रमण सुरु गरेको बताएपछि इरानी मिसाइलहरू प्रहार भएको छ । इरानी आक्रमणको खबर सार्वजनिक भएसँगै लेबनानको राजधानी बेरुतमा मानिसहरू सडकमा निस्किएर उत्सव मनाएको अल जजिराले बताएको छ ।
– अलजजिराबाट