उत्तरार्द्धमा मनसुन सक्रिय बन्दा दसैँको मुखमा बाढीपहिरोको जोखिम बढेको छ । मनसुनी प्रणाली कायमै रहेका वेला बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली (हावाको चाप कम भएको ठाउँ, जहाँ वर्षा गराउने बादल बन्न पुग्छ)सँगै जलवाष्पयुक्त हावा नेपाल आउँदा बिहीबारदेखि आइतबारसम्म भीषण वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि आइतबार बिहानसम्म देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित सिमसिमदेखि मुसलधारे वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भने आरीघोप्टे तहको वर्षाको चेतावनी दिइएको छ । यस अवधिमा तराईमा हावाहुरी चल्नेछ ।
प्रतिभा मानन्धर, मौसमविद्
बाढीपहिरो तथा गेग्रान बहावको जोखिम देखिन्छ, मनसुनमा राति धेरै पानी पर्ने सम्भावना रहेकाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम पनि छ । ठुला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्रआसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्छ ।
भीषण वर्षाका कारण बाढीपहिरोको जोखिम निम्तने भएकाले मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लालाई उच्च जोखिममा राखेको छ । यसबाहेक १९ जिल्ला मध्यम जोखिममा छन् भने मुगु र हुम्ला मात्र न्यून जोखिममा छन् । महाशाखाले सोमबार राति विशेष बुलेटिन जारी गर्दा बिहीबारदेखि शनिबारसम्मका लागि २७ जिल्लामा रेडअलर्ट जारी गरेको थियो । तर, वर्षा गराउने प्रणाली झन् शक्तिशाली बनेकाले वर्षा हुने क्षेत्र र असर बढी पर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताइन् । लामो समय वर्षा रोकिएकामा मंगलबारदेखि मनसुन सक्रिय भएको थियो ।
‘बाढीपहिरो तथा गेग्रान बहावको जोखिम देखिन्छ, मनसुनमा राति धेरै पानी पर्ने सम्भावना रहेकाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम पनि छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘ठुला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्रआसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्छ । आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन अनुरोध छ ।’ यो साताभर किसानलाई धान नकाट्न महाशाखाले अनुरोध गरेको छ । रेडअलर्ट जारी भएका जिल्लामा रात्रिकालीन बस चलाउन रोक लगाउने निर्णय सरकारले यसअघि नै गरेको थियो ।
बिहीबार : सातवटै प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । राति कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा धेरै भारी वर्षाको आकलन छ ।
शुक्रबार : कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा हुनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा सुदूरपश्चिम र कर्णालीका थोरै स्थानमा भारी वर्षाको आकलन छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
शनिबार : अधिकांश स्थानमा वर्षा हुनेछ । बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ ।
आइतबार : आइतबार बिहानसम्म वर्षा हुनेछ । देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि आइतबार दिउँसोदेखि मौसममा सुधार आउने मौसमविद् मानन्धरले बताइन् । गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
यी हुन् रेडअलर्ट जारी भएका ५६ जिल्ला
कोशी : झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर
मधेश : सिराहा, सप्तरी र पर्सा
बागमती : मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप
गण्डकी : म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ
लुम्बिनी : रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया
कर्णाली : जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान
सुदूरपश्चिम : कैलाली, डोटी र अछाम
बाढीपहिरो तथा गेग्रान बहावको जोखिम देखिन्छ, मनसुनमा राति धेरै पानी पर्ने सम्भावना रहेकाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम पनि छ । ठुला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्रआसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्छ ।