श्रीलंकामा राष्ट्रपति निर्वाचन

आइतबार, ६ असोज, २०८१
डिजिटल संस्करण

श्रीलंकामा राष्ट्रपतिका लागि मतदान सम्पन्न भएको छ । व्यापक प्रदर्शनबाट राष्ट्रपति हटेको डेढ वर्षपछि शनिबार देशको नवौँ कार्यकारी राष्ट्रपति चयनका लागि निर्वाचन सम्पन्न भएको हो । शनिबारको मतदानलाई देशको आर्थिक सुधारको जनमत संग्रहको रूपमा हेरिएको छ  । यसपटकको निर्वाचनमा श्रीलंकाको इतिहासमै सबैभन्दा धेरै उम्मेदवार प्रतिस्पर्धा गर्दै छन् ।  

राष्ट्रपतिका आकांक्षी तीन दर्जनमध्ये वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघेले पनि उम्मेदवारी दिएका छन् । विक्रमासिंघेले अर्थतन्त्रलाई स्थिर बनाउन र महिनौँसम्मको खाद्यान्न, इन्धन र औषधीको अभावको अन्त्य गरेको बताएका छन् ।

निर्वाचनमा अर्का प्रमुख दाबेदार वामपन्थी राजनीतिज्ञ अनुरा कुमारा दिसानायकलाई पनि बलियो उम्मेदवार मानिएको छ । उनको भ्रष्टाचारविरोधी अभियानले जनसमर्थन बटुलेको बताइन्छ ।  सन् २०२२ मा मन्दीका कारण आक्रान्त बनेका नागरिकले तत्कालीन निर्वाचित राष्ट्रपति गोटबाय राजपाक्षेविरुद्ध आन्दोलन गरेपछि उनी देश छाडेर भागेका थिए ।

विक्रमासिंघेले संकटका समयमा देशलाई नेतृत्व गरेर थलिएको अर्थतन्त्रलाई सम्हाल्दै झन्डै पहिलेको अवस्थामा पुर्याएको बताइन्छ । संकटका समय नेतृत्व गरेको र देशलाई थप बर्बादी हुनबाट रोक्न सकेकोमा आफू विजयी हुनेमा उनी आशावादी छन् ।

विज्ञहरूका अनुसार श्रीलंकाको अर्थतन्त्र अझै पनि कमजोर छ । विक्रमासिंघेले निर्वाचित भएमा आफ्नो तपस्याबाट आएको कार्यक्रमलाई अगाडि बढाउने र आइएमएफसँगको सहकार्य कुनै विचलनतिर जान नदिने बताएका छन् । चुनावमा ३९ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् ।

सुझावित समाचार