१७ हजार घुस लिने तीन प्राविधिक कर्मचारीलाई कैद र जरिवाना

बिहिबार, २७ भदौ, २०८१
डिजिटल संस्करण

विशेष अदालतले तीनजना प्राविधिक कर्मचारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवानाको सजाय सुनाएको छ। बिहीबार विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ हजार रुपैयाँसहित पर्यटन विकास आयोजना इकाइ काठमाडौंमा कार्यरत दुईजना सबइन्जिनियरलाई नियन्त्रणमा लिएको थियो। राजनकुमार भट्टराई र सञ्जय अर्याललाई घुससहित पक्राउ गरिएकामा उनीहरूले सोही कार्यालयमा कार्यरत इन्जिनियर राजीव बस्नेतले उक्त रकम लिन लगाएको बयान दिएका थिए। 

जसपछि अख्तियारले भट्टराई, अर्याल र बस्नेतलाई प्रतिवादी बनाई यसै वर्ष २१ असारमा मुद्दा चलाएको थियो। यस मुद्दामा तीनैजनालाई विशेषले दोषी ठहर्याएको हो। 

विशेषका अनुसार तीनैजनालाई जनही ३–३ महिना कैद सजाय भएको छ भने उनीहरूले बिगोको दामासाहीले हुन आउने रकम जरिवानाबापत तिर्नुपर्नेछ। तीनै प्रतिवादीबाट जनही २ सय २६ रुपैयाँ भराई पीडित राहत कोषमा जम्मा गर्न र घुसबापतको १७ हजार रुपैयाँ उजुरवालाले फिर्ता पाउने भएका छन्। 

अख्तियारका अनुसार निर्माण कार्य सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी प्रयोजनका लागि बस्नेतले १७ हजार घुस मागेका थिए। उनले भट्टराई र अर्यालसँगको मिलेमतोमा उक्त रकम भ्रष्टाचार गरेको ठहर भएपछि सजाय सुनाइएको हो।

सुझावित समाचार