- श्यामकृष्ण राउत लगनखेल आसपास भारी बोक्ने काम गर्छन् । कोठाबाट बिहान निस्केपछि उनी साँझ मात्रै फर्किन्छन् । काम भए पनि नभए पनि दिनभर बजारतिरै अलमलिन्छन् । काम भएका वेला व्यस्त बन्ने उनी फुर्सदका वेला भने पुल्चोकस्थित समय् फल्चामा भेटिन्छन् । ललितपुर महानगरले समय् फल्चा पुनर्निर्माण गरेपछि उनीजस्ता धेरैलाई थकाइ मार्ने सजिलो ठाउँ बनेको छ । आइतबार दिउँसो फल्चामा भेटिएका उनी भन्छन्, ‘थकाइ मार्न कोठामा गइराख्नै पर्दैन । थकाइ मारेर बसे पनि भयो, सुते पनि भयो ।’
- मैतिदेवी मन्दिरपरिसरको फल्चामा पनि सधैँ भिडभाड देखिन्छ । फल्चा निर्माणपछि धेरैलाई थकाइ मार्न र समूह बनाई गफ गर्न सहज भएको छ । फल्चामा भेटिएका सहदेव महर्जनले भने, ‘साँझ–बिहान समय बिताउन र आफूजस्तै साथी भेटघाट गर्न निकै सहज भएको छ । सहरमा जहाँतहीँ गएर बस्न मिल्दैन । यहाँ जति बसे पनि भयो ।’ उनीजस्ता ज्येष्ठ नागरिकका लागि सहरका फल्चा (पाटी) फल्चामा मात्रै सीमित छैन । दुःखसुख साट्ने, सहर नियाल्ने गन्तव्यसमेत भएको छ ।
००० ०००
उपत्यकाका ठाउँठाउँमा बनेका फल्चाले पदयात्री, स्थानीयवासीलाई मात्रै सहज बनाएको छैन, यहाँको मौलिक कला संस्कृतिको प्रवर्द्धन गर्दै सहरलाई सुन्दर पनि बनाएको छ । यही कारण वर्षौंसम्म मुद्दा खेपेर भए पनि ललितपुर महानगरपालिकाले तीन वर्षअघि पुल्चोकको समय् फल्चालाई ब्युँताइछाड्यो । २०६ वर्ष पुरानो यो फल्चा पुनर्निर्माणपछि अहिले धेरै पदयात्रीको विश्रामस्थल बनेको छ । एक आना एक दाममा बनेको समय् फल्चालाई महानगरले करिब ३५ लाख रुपैयाँमा पुनर्निर्माण गरेको हो ।
काठमाडौं महानगरले पनि करिब ९१ वर्षसम्म पुरिएर रहेको वडा नम्बर ८ स्थित ‘ग्वलः दे फल्चा’लाई ब्युँताएको छ । ‘ग्वलः दे फल्चा’ १९९० सालको भूकम्पमा पुरिएको थियो । वडा ८ वडाध्यक्ष तथा महानगरका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतका अनुसार घरको भित्तामा फेला परेको एक शिलापत्र अध्ययन र २०५० सालमा तयार पारिएको विवरण पुस्तिका हेरेर यो फल्चा पुनरुत्थान गरिएको हो । शिलापत्रमा फल्चाको निर्माण नेपाल संवत् ८२० मा र पुनर्निर्माण ८७३ मा भएको उल्लेख छ । यसअनुसार फल्चा करिब तीन सय २४ वर्ष पुरानो हो । स्थानीय ज्येष्ठ नागरिकका अनुसार १९९० सालको भूकम्पपछि फल्चा हराएको थियो । जसलाई खोजबिन गरेर महानगरले पुनर्निर्माण गरी हालै शिल्यान्यास गरेको हो । यो फल्चा पनि पदयात्री र स्थानीय ज्येष्ठ नागरिकको विश्रामस्थल बनिरहेको छ ।
आशामान संगत : संयोजक, काठमाडौं महानगर सम्पदा तथा पर्यटन समिति
पहिले वास बस्ने, विश्राम गर्ने थलोको रूपमा रहेको फल्चा अहिले भजनकीर्तन गर्ने, विश्राम गर्ने थलोको रूपमा प्रयोग भइरहेका छन् । बस स्टपमा फल्चा निर्माण गर्नेबाहेक पुराना फल्चा, बही, मठमन्दिर, गुठी घर पुनर्निर्माण र संरक्षण गर्न सर्कुलर जारी गरेका छौँ ।
सोही (४ भदौ) दिन नवाली टोलमै रहेको ‘ध्वाखा छेँ (नरसिंह)’ फल्चाको पनि पुनर्निर्माणपश्चात् शिल्यान्यास भएको थियो । २५ फिट लम्बाइ र १६ फिट चौँडा नरसिंह फल्चा १९औँ शताब्दीमा बनाइएको अभिलेखमा उल्लेख छ । ठमेल बस्ने कमान नरसिंह कर्णेलले बनाएकाले यो फल्चाको नाम नरसिंह रहेको हो । यसलाई नेपाल भाषामा ‘ध्वाखा छेँ’ भन्ने गरिएको छ । संयोजक संगतका अनुसार वडा ८ मै रहेको रावण पाटी पुनः निर्माणको चरणमा छ ।
कहिलेदेखि बन्न थाले उपत्यकामा फल्चा सामाजिक–सांस्कृतिक गतिविधि एवं दैनिक भेटघाट, बसिबियाँलो र छलफल गर्न मल्लकालमा हरेक टोल, ठुला–साना चोक, बाटो–गल्लीमा फल्चा निर्माण सुरु भएको इतिहास छ । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मल्लहरूले १३औँदेखि १८औँ शताब्दीसम्म शासन गरेका थिए । त्यति वेला फल्चा निर्माणले तीव्रता पाएको थियो ।
विश्रामस्थल अर्थात् फल्चा
भक्तपुर नगरपालिकाकी उपमेयर रजनी महर्जनका अनुसार अचेल फल्चा भेटघाट, विश्रामथलो बनिरहेको छ । सामाजिक–सांस्कृतिक गतिविधि एवं दैनिक भेटघाट, बसिबियाँलो र छलफल गर्न मल्लकालमा हरेक टोल, ठुला–साना चोक, बाटो–गल्लीमा फल्चा निर्माण सुरु भएको उपमेयर जोशी बताउँछिन् । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मल्लहरूले १३औँदेखि १८औँ शताब्दीसम्म शासन गरेका थिए । ‘जात्रा अवलोकनका लागि समेत फल्चा प्रयोग हुने गरेको छ । अन्य दिनमा सामाजिक, सांस्कृतिक विषयमा छलफल र विकास निर्माण बारे टोलका जेठाबाठा र युवायुवतीबिच विमर्श हुने गरेको छ,’ ख्वपको पहिचान सन्दर्भ सामग्री भाग ३ पुस्तकमा जोशीले उल्लेख गरेकी छिन् । उनका अनुसार कुनै पनि फल्चाको बनोट त्यस स्थानको दिशा, जग्गाको अवस्था, बाटो वा चोकको नापजाँचमा भर पर्छ । सोहीअनुरूप कवल संख्या र स्वरूपमा भिन्नता हुने गरेको छ । उपत्यकाका अधिकांश फल्चा आयाताकार र एक तलाका छन् । महानगरका सम्पदा तथा पर्यटन समितिका संयोजक संगतका अनुसार कुनै वेला विश्रामस्थलको रूपमा निर्माण गरिएका फल्चाले अहिले सहरको सुन्दरता बढाएका छन् । आफ्नो वडामा धर्मशाला, होटेल, लज नहुँदा सुरु भएको फल्चा हाल ज्येष्ठ नागरिकको विश्रामस्थल र भजनकीर्तन गर्ने ठाउँ बनेको उनी बताउँछन् । ‘पहिले वास बस्ने, विश्राम गर्ने थलोको रूपमा रहेको फल्चा अहिले भजनकीर्तन गर्ने, विश्राम गर्ने थलोको रूपमा प्रयोग भइरहेका छन्,’ उनले भने, ‘बस स्टपमा फल्चा निर्माण गर्नेबाहेक पुराना फल्चा, बही, मठमन्दिर, गुठी घर पुनर्निर्माण र संरक्षण गर्न सर्कुलर जारी गरेका छौँ ।’
ललितपुरको एउटै वडामा ३३ फल्चा
ललितपुर महानगरमा सबैभन्दा धेरै फल्चा रहेका छन् । महानगरअन्तर्गत सम्पदा संरक्षण केन्द्रका अधिकृत सविना महर्जनका अनुसार ललितपुरमा दुई सय ५२ वटा फल्चा छन् । केन्द्रका अनुसार यो संख्या १ देखि १९ वडा मात्रैको हो । बाँकी वडाको तथ्यांक संकलन भइरहेको छ । महानगरभित्रको वडा नम्बर ९ मा सबैभन्दा धेरै ३३ वटा फल्चा छन् । १२ र १६ वडामा ३२–३२, वडा नम्बर २ मा पाँच, वडा नम्बर ३ मा १३, वडा नम्बर ४ मा नौवटा फल्चा छन् । यसैगरी, वडा नम्बर ५ मा पाँच, ६ मा १०, ७ मा १२, ८ मा २१, १० मा दुई, ११ मा २६, १३ मा पाँच, १४ मा चार, १५ मा तीन फल्चा छन् । वडा १७ मा आठ, वडा १८ र १९ मा १६–१६ फल्चा रहेका छन् भने वडा नम्बर १ मा फल्चा छैनन् । केन्द्रले बाहेक वडाहरूले पनि स्वस्फुर्त रूपमा फल्चा निर्माण र पुनर्निर्माण गरिरहेको महर्जनले बताइन् ।
केन्द्रका अनुसार वडा २ को इन्द्रायणी, नयाँ बाटोमा इन्द्रायणी फल्चा, गुसिंगालमा गुसिंगाल फल्चा, शान्ति विहारमा शान्ति विहार फल्चा, वडा ३ पुल्चोकमा लामपाटी चुनदेवी फल्चा, अशोक स्तूप प्रवेशद्वारको दायाँबायाँ पनि फल्चा रहेका छन् भने वडा ३ कै धोबीघाट, झम्सिखेल, दानागिरिमा समेत फल्चा रहेका छन् । यसैगरी, वडा ४ को अफलडोलमा मृत्यञ्जय फल्चा, जावलाखेलमा काटोलगायत फल्चा छन् ।
भक्तपुरका सबै वडामा फल्चा
भक्तपुर नगरपालिकाका सबै वडामा फल्चा छन् । नगरपालिकाअन्तर्गत सम्पदा शाखा उपनिर्देशक रामगोविन्द श्रेष्ठका अनुसार नगरपालिकाभित्र ६० फल्चा छन् । चालू आर्थिक वर्षमा पाँच फल्चाको पुनर्निर्माण हुनेछ । चालू आवमा वडा १ को हो हो फल्चा, वडा २ को सहिद स्मृति, वडा ३ को तपालाछी फल्चाको पुनर्निर्माण हुनेछ । यसैगरी, वडा ४ को वंशगोपाल, वडा ५ को भोलाछें पाटी पुनर्निर्माण हुनेछन् । नगरपालिकाभित्र सबैभन्दा धेरै वडा ९ मा वाचुहिटी, देगइना, तलातुन्छी, त्वचा, वाकुपति नारायण दक्षिण भिमुख, लामगाल (सिचु फल्चा), सूर्यगढी, सूर्यगढी पुर्वोत्तर (चिव पाटी), द्दो पमी, तिनाछे मयजु, पाली फः फल्चा रहेका छन् । सबैभन्दा कम वडा ३ मा बद्रीनारायण, किसी, तेखापुखु फल्चा छन् ।
थप फल्चा निर्माणका लागि अध्ययन गर्दै छौँ : महानगर
काठमाडौं महानगरभित्र सबैभन्दा कम २० फल्चा रहेका छन् । महानगरअन्तर्गत सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राईका अनुसार महानगरमा चारवटा निर्माणाधीन फल्चा छन् । धन गणेश मन्दिर परिसर, निल बाराही मन्दिर परिसरमा र कोटेश्वर महादेव स्थान परिसरमा फल्चा निर्माणाधीन छन् । यसैगरी वडा २० को कोहिती फल्चा पुनर्निर्माणको चरणमा छ । भने १ देखि ३२ वडामा २० वटा बस स्टपमा फल्चा बनाउन टेन्डर भएको छ । महानगरभित्र २० ठाउँका बस स्टपमा फल्चा निर्माणसँगै थप फल्चा निर्माणका लागि अध्ययन गरिनेछ । महानगरका अनुसार हाललाई बस स्टपका फल्चाबाहेक अरू फल्चा नवनिर्माण हुनेछैनन् ।
पहिले वास बस्ने, विश्राम गर्ने थलोको रूपमा रहेको फल्चा अहिले भजनकीर्तन गर्ने, विश्राम गर्ने थलोको रूपमा प्रयोग भइरहेका छन् । बस स्टपमा फल्चा निर्माण गर्नेबाहेक पुराना फल्चा, बही, मठमन्दिर, गुठी घर पुनर्निर्माण र संरक्षण गर्न सर्कुलर जारी गरेका छौँ ।