महाधिवेशनको ६ महिनाभित्र विभाग बनिसक्नुपर्नेमा ३३ महिनामा ७० मध्ये ५४ विभागले मात्रै पाए नेतृत्व, तर सबै अपूर्ण
कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागमा बिहीबार १० सदस्य मनोनीत भए । गत २१ साउनमा गठन भएको ३७ मध्येको एक यो विभाग पूर्णताको प्रक्रिया थालिएको कांग्रेसको आठौँँ विभाग हो । पार्टीको मेरुदण्ड मानिने विभाग गठन र पूर्णतामा कांग्रेसको ढिलाइ देखाउने पछिल्लो उदाहरण मात्र हो यो ।
कांग्रेस विधानले महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने व्यवस्था गरेको छ । कांग्रेसले पछिल्लो समय यसअघिका विभागको संख्यामा हेरफेर र कार्यक्षेत्र मिलान गरी ७० विभाग बनाउने तयारी गरिरहेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ०७८ मंसिरमा कांग्रेसको १४औँ महाधिवेशन भएपछिको ३३ महिने अवधिमा पटकपटक गरी ५४ वटा विभाग गठन गरेको छ । बनेका विभागमध्ये कुनै पनि विभागले पूर्णता पाउन सकेका छैनन् । पछिल्लो समय बनेका विभागमा १० सदस्यका दरले सदस्य मनोनीत गर्ने गरिएको छ । विधानमा विभागको नेतृत्व केन्द्रीय सदस्यले गर्ने र ५१ जनासम्म सदस्य रहने व्यवस्था छ ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्मा बाँकी विभाग गठन र पूर्णताका लागि गृहकार्य भइरहेको दाबी गर्छन् । केही दिनमै नयाँ विभाग बन्ने र पूर्णता दिइने उनले बताए । विकसित राजनीतिक घटनाक्रमका कारण विभाग गठन र पूर्णतामा ढिलाइ भएको उनको भनाइ छ । ‘पार्टीमा सहमति गर्दै बाँकी विभाग गठन गर्ने र बनेकालाई पूर्णता दिने काम भइरहेको छ । केही दिनभित्रै बाँकी विभाग बन्नेछन् । पूर्णता पाउन बाँकी विभाग पनि बन्नेछन्,’ उनले भने, ‘पहिला बनेको प्रचार विभागमा ८० प्रतिशत सदस्य मनोनीत भएका छन् । अन्यका सन्दर्भमा विभाग प्रमुखलाई काम गर्न सहज होस् भनेर सुरुमा १० सदस्यको नाम माग गर्दै मनोनीत गरिरहेका छौँ । बाँकीलाई जिम्मेवारी दिँदै जान्छौँ ।’
गत २३ साउनमा बसेको केन्द्रीय समितिअघिसम्म सात विभागलाई पूर्णता दिने प्रक्रिया थालिएको थियो । केन्द्रीय समिति बैठक सुरु भएदेखि बिहीबारसम्ममा थप ६ विभागमा १० जनाको संख्यामा सदस्य मनोनीत भएका छन् । यसबिचमा बसेको केन्द्रीय समितिले विभागका विषयमा कुनै निर्णय गरेको छैन् ।
आर्थिक नीति तथा योजना विभाग प्रमुख गोविन्दराज पोखरेल विभाग गठनमा ढिलाइले पार्टीले धेरै लाभ गुमाएको बताउँछन् । साथै, बनेको विभागलाई पूर्णता दिन ढिलाइ हुँदा विभाग चलायमान हुन नसकेको उनको भनाइ छ । उनले पछिल्लो समय विभाग प्रमुखलाई अनुकूल हुने गरी दश सदस्यको नाम माग गरिएको जानकारी दिए । ‘विभाग गठनमा ढिलाइले पार्टीले धेरै लाभ गुमाएको छ । समयमै बनेको भए सैद्धान्तिक रूपमा सुझाव दिन सक्थ्यो, पार्टी संगठन बलियो बन्ने अवस्था थियो,’ उनले भने, ‘ढिलै भए पनि बनेका विभागलाई काममा लाग्न पार्टीको निर्देशन छ । मेरो नेतृत्वको विभागमा मनोनीत हुने १० सदस्यकोे नाम माग गरिएको छ । नाम छनोट भइरहेको छ ।’
शिक्षा विभाग प्रमुख नैनसिंह महरले पनि माग भएका विभागका सदस्यको नाम टुंगो लाग्ने क्रममा रहेको बताए । विभागमा सदस्य मनोनीत हुन नसक्दा गतिविधि देख्न नपाएको उनको भनाइ छ । ‘प्रारम्भिक रूपमा माग भएका १० विभाग सदस्यको नाममध्ये केही टुंगो लागेको छ, केहीको बाँकी छ । बाँकी ४० जनाको नाम पार्टीले नै आवश्यकता हेरेर टुंगो लगाउँछ,’ महरले भने ।
१४औँ महाधिवेशनपछि १२ जेठ ०८० मा पहिलो विभागका रूपमा प्रचार विभाग गठन गरिएको थियो । लामो समयसम्म विभाग नबनेपछि गत वर्ष २ देखि १० साउनसम्म बसेको केन्द्रीय समिति बैठकले १५ भदौभित्र ४८ विभागबाट बढाएर ७० विभाग बनाउने निर्णय गरेको थियो । महामन्त्री गगन थापाले प्रस्ताव गरेको कार्यतालिकाअनुसार यसबिचमा नयाँ विभाग गठन र पुरानालाई नेतृत्व दिने भनिएको थियो । तर, १५ अन्तिम समयमा १५ मात्र विभागको नेतृत्व तोकियो । त्यसयता १७ जेठमा जनसम्पर्क समिति समन्वय विभाग र २१ साउनमा ३७ विभाग गठन भएका थिए । बाँकी १६ को अझै टुंगो छैन । प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार बन्न बाँकी १६ वटै विभागको नाम र कार्यक्षेत्र टुंगो लागिसकेको छ । सभापति शेरबहादुर देउवाले विभाग प्रमुखबारे आन्तरिक छलफल गरिरहेका छन् । पछिल्लो समय विभाग गठनको विषयलाई लिएर कांग्रेसमा विवाद देखिएको छैन ।
कांग्रेस विधानले सभापतिलाई विभाग गठनको पूर्ण अधिकार दिएको छ । कांग्रेस विधानले सभापतिलाई विभाग गठनको पूर्ण अधिकार दिएको छ । धारा २५ (९) मा भनिएको छ, ‘केन्द्रीय विभाग एवं अन्य केन्द्रीय निकायका प्रमुख, उपप्रमुख, सचिव र सदस्यको नियुक्ति, मनोनयन वा हेरफेर गर्ने ।’ धारा ३७ (ग) मा समेत विभाग गठनबारे स्पष्ट व्यवस्था छ ।