संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् ।
बिहीबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, ‘सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ। तैपनि राज्यबाट पछि परेको छ। मानव विकास सूचकांकका दृष्टिकोणले समेत पछाडि परेको छ। सुदूपश्चिमको पर्यटकीय क्षेत्रको विकासका लागि राजनीतिक दल र सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्नेछु।’
मन्त्री पाण्डेले पाँच सयभन्दा बढी पर्व र एक सय ३० वटा भाषा भएको उल्लेख गरे । उनले भाषा, सभ्यता, संस्कृति, वेशभूषा र पर्यटकीय दृष्टिकोणले मुलुक धनी भएको बताए । संस्कृति र पर्यटनलाई चलायमान बनाउने र त्यसलाई सुनिश्चित बनाउन नागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउन बनाउन सकेमा देशमा आर्थिक वृद्धि हुने उल्लेख गरे ।
उनले मन्त्रालयको समग्र विषयवस्तु बुझिसकेको र अब प्राथमिकीकरणका आधारमा अघि बढ्नेसमेत बताए।साथै उनले नीतिगत र कानुनी रूपमा भएका त्रुटिहरूसमेत संशोधन गर्दै अघि बढिरहेकोमा प्रस्ट पारे ।