एमालेको ध्यान र शक्ति ०८४ को निर्वाचनमा

तोकिएको समयमा कांग्रेसलाई नेतृत्व हस्तान्तरण : ओली

बुधबार, १९ भदौ, २०८१
डिजिटल संस्करण

कांग्रेससँगको सहमतिअनुसार दुई वर्ष प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका एमाले अध्यक्ष केपी ओलीले ०८४ को निर्वाचनमा पार्टीलाई बहुमत ल्याउने प्राथमिकता तय गरेका छन् । सरकारको नेतृत्व गरिरहेको दल एमालेले आफ्नो ध्यान र शक्ति तीन वर्षपछि हुने आमनिर्वाचनमा केन्द्रित गर्दै छ । 

मंगलबारबाट सुरु पोलिटब्युरो बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले तीन वर्षपछि हुने आमचुनाव केन्द्रमा राखेर संगठन विस्तार र सुदृढीकरणसहितका १५ वटा विषय समेटिएको वार्षिक कार्ययोजना प्रस्ताव गरेका छन् । संगठन सुदृढीकरण र विस्तारको कार्ययोजनासहित तीन एजेन्डामा छलफल गरेर वार्षिक कार्ययोजनासहितको रणनीति तयार पार्ने एमालेको तयारी छ । 

प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा मूलतः विकसित राजनीतिक घटनाक्रमको विश्लेषणसहित अध्यक्षको सम्बोधन, निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना र समसामयिक प्रस्ताव एजेन्डाका रूपमा प्रस्तुत भएको छ । बुधबार त्यसमाथि केन्द्रित रहेर पोलिटब्युरो सदस्यहरूले सुझाव राख्नेछन् । 

वार्षिक कार्ययोजनामा मूलतः संगठन सुदृढ र विस्तार गर्दै आगामी निर्वाचनसम्म पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने लक्ष्य छ । सरकार र जनप्रतिनिधिहरूको प्रभावकारी परिचालनमार्फत मिसन ०८४ मा चुनावमा बहुमत ल्याउने अभियान पूरा गर्ने विषय प्रस्तावित कार्ययोजनामा छ ।

जसअनुसार मुख्य १५ विषय समेटिएको कार्ययोजनाभित्र पार्टी सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरण, अधिवेशन हुन बाँकी १० जिल्लाको अधिवेशन नियमित रूपमा सम्पन्न गरी व्यवस्थापन गर्ने, पार्टी प्रवेश गरेका व्यक्ति र पार्टी अधिवेशनबाट बाहिरिएका नेता–कार्यकर्ताको जिम्मेवारी व्यवस्थापन र पार्टी कार्यकर्ताको नियमित मूल्यांकनका विषय समेटिएको छ ।

त्यस्तै, विधिसम्मत पार्टी कमिटीहरूको परिचालन, अन्तरविरोध न्यूनीकरण र व्यवस्थापन, पार्टी स्कुलको स्थायी परिचालन गरी तलैसम्म नियमित प्रशिक्षण अभियान चलाउने विषय पनि कार्ययोजनामा छ ।

तोकिएको समयमा कांग्रेसलाई नेतृत्व हस्तान्तरण : ओली
एमाले अध्यक्ष केपी ओलीले नयाँ समीकरण निर्माणका क्रममा भएको सातबुँदे सहमतिअनुसार कांग्रेसलाई तोकिएकै समयसीमाभित्र सरकारको नेतृत्व हस्तान्तरण गरिने बताएका छन् । मंगलबारबाट सुरु भएको पार्टी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयसीमामा सरकारको नेतृत्व हस्तान्तरण गर्ने बैठकलाई जानकारी गराए । ‘एमालेले नेतृत्व गरिरहेको अहिलेको सरकारले जनतामा उत्साह पैदा गरेको छ, अर्थतन्त्र क्रमशः लयमा फर्किँदै छ । सरकार सफल दिशामा अघि बढ्छ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने । 

See More On

सुझावित समाचार