त्रिविका पाँच संकाय दुई महिनादेखि डिनविहीन

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पाँच संकाय दुई महिनादेखि डिनविहीन बनेका छन् । डिनहरूको कार्यकाल सकिएपछि चिकित्सा शिक्षा, इन्जिनियरिङ, कृषि तथा पशु विज्ञान, मानविकी तथा सामाजिकशास्त्र र शिक्षाशास्त्र संकाय नेतृत्वविहीन बनेका हुन् ।

तत्कालीन डिनहरूको कार्यकाल दुई महिनाअघि सकिएपछि यी संकाय निमित्तको भरका छ । तर, कार्यालय सकिएकै डिनहरूले निमित्तको जिम्मेवारी पाएका छन् । चिकित्सा शिक्षामा विद्या साह, इन्जिनियरिङमा शशिधरराम जोशी, कृषि तथा पशु विज्ञानमा किशोर दाहाल, मानविकी तथा सामाजिकमा कुसुम शाक्य र शिक्षाशास्त्र संकायमा चित्र बुढाथोकीले निमित्तको जिम्मेवारी सम्हालिरहेका छन् । त्रिवि कार्यकारी परिष्दले अर्को व्यवस्था नहुँदासम्मका लागि उनीहरूलाई नै निमित्तको जिम्मेवारी दिएको हो । 

यस्तै वन विज्ञान, विज्ञान तथा प्रविधि र व्यवस्थापन संकायका डिनको कार्यकाल पनि आगामी मंसिरदेखि सकिँदै छ । त्रिविका रजिस्ट्रार प्रा.डा. केदार रिजालले दुई साताभित्र कुन संकायमा को नियुक्ति गर्ने भन्ने विषय टुंगो लाग्ने बताए । ‘कतिपय संकायका डिनहरूको कार्यकाल सकिएको छ, कतिपयमा सकिँदै छ । निमित्तले पनि कार्यालय चलाउँदै आउनुभएको छ,’ उनले भने, ‘प्रतिस्पर्धाका आधारमा डिन नियुक्त हुन्छन् ।’ त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल, रेक्टर प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदार रिजालले प्रतिस्पर्धाबाट त्रिविमा नियुक्ति गर्ने बताउँदै आएका छन् ।

डिन नियुक्तिका लागि छनोट समिति गठन
त्रिविमा कार्यकाल सकिएका संकाय र कार्यकाल सकिँदै गरेका संकायमा डिन छनोटका लागि त्रिवि कार्यकारी परिषद्ले फरक–फरक समिति गठन गरेको छ । गत आइतबार बसेको कार्यकारी परिषद्को बैठकले समिति गठन गरेको हो । त्रिविका रजिस्ट्रार प्रा.डा. केदार रिजालले छनोट समितिले गरेको सिफारिसका आधार डिन नियुक्ति गरिने बताए । उनका अनुसार दुई साता समयसीमासहित समितिहरू गठन गरिएको छ । कार्यकारी परिषद्ले सबै समितिमा तीन–तीन सदस्यसहित समिति गठन गरेको हो ।

त्रिवि कार्यकारी परिषद्का अनुसार शिक्षाशास्त्र संकायमा हेमराज ढकाल, चिकित्सा शिक्षा अध्ययन संस्थानमा प्रा. केके ओली, इन्जिनियरिङ अध्ययन संस्थानमा जीवराज पोखरेल, कृषिमा पूर्वडिन कैलाश प्याकुरेल, वन विज्ञान अध्ययन संस्थानमा प्राध्यापक पिके झा, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्राध्यापक तुलसी पाठक र व्यवस्थापन संकायमा पूर्वरेक्टर प्रेमराज पन्तको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले मापदण्डका आधारमा नियुक्तिका लागि व्यक्ति छनोट गरेर त्रिवि कार्यकारी परिषद्समक्ष सिफारिस गर्नेछ । डिन बन्नका लागि एकै व्यक्ति दुईपटक डिन बन्न नपाउने, कम्तीमा १० वर्ष प्राध्यापनरत प्राध्यापक वा सहप्राध्यापक भएकोलगायत योग्यता हुनुपर्नेछ । 

See More On

सुझावित समाचार