सिमलताल दुर्घटनाः गृहमन्त्रीले बुझे प्रतिवेदन

मंगलबार, २२ साउन, २०८१
डिजिटल संस्करण

चितवनको सिमलताल बस दुर्घटनाको विषयमा अध्ययन गर्न बनेको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकसमक्ष प्रतिवेदन पेश गरेको छ।

गृहमन्त्री लेखक पदवाहाली भएपछि पहिलो निर्णय गर्दै सिमलताल घटनाको विस्तृत अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए।

कार्यदलले प्रतिवेदन पेश गर्दै विपत् व्यवस्थापनलगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाल निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्नेमा राय दिएको छ।

कार्यदलको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटनाका कारण लामो समयदेखि जन र धनको क्षति भइरहेकोप्रति चिन्ता व्यक्त गरे।

गृहमन्त्री लेखकले प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यदलले दिएको सुझाव मन्त्रालयले पनि कार्यान्वयन गर्नुका साथै अरु निकायलाई पनि कार्यान्वयन गर्न लगाउने बताए।

‘यो गम्भीर र संवेदनशील विषय छ,’ मन्त्री लेखकले भने, ‘हवाई दुर्घटना भयो भने आयोग  र समिति बनाउने, दुर्घटनाको बारेमा जानकारी लिने, छानविन हुने गरिन्थ्यो । सडक दुर्घटनाको एउटै निश्चित घटनालाई लिएर यो पहिलो समिति बनेको हो ।’

सडक दुर्घटना न्यूनीकरणका लागि सबैखाले पहल गरिने उनले बताए। ६२ जना बेपत्ता हुने गरी भएको दुर्घटनाको गम्भीरता बुझेर आफूले अध्ययन कार्यदल बनाएको गृहमन्त्री लेखकको भनाइ थियो।

प्रतिवेदनमा भेलबाढीकै कारण दुईवटा बस त्रिशूली नदीमा बगेको आशयसहितको निष्कर्ष कार्यदलले निकालेको छ।

प्रतिवेदन पेश गर्दै कार्यदलका संयोजक गृहमन्त्रालयका सहसचिव छवि रिजालले दुर्घटनास्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ÷डिजाइनबिना नै ग्रामीणसडक खनेको पाइएको बताए।

‘दुर्घटनास्थलमा ठूलो मात्रामा ‘डेब्रिज’ (गेग्रान बहाव) भएको देखिन्छ, त्यहाँको भूगोल कमजोर पनि छ,’ संयोजक रिजालले भने, ‘उक्त स्थानीय सडक निर्माणमा सुरक्षाको दृष्टिकोणले टेवा÷पर्खाल लगाएको पनि देखिँदैन।’

दुर्घटनामा परी नदीमा हराएका यात्रुमध्ये २४ जनाको शव फेला परेको छ भने ४० अझै बेपत्ता छन्। दुर्घटनालगत्तै सुरक्षा निकायलाई खोजीकार्यमा सक्रिय बनाइएको गृह मन्त्रालयले जनाएको छ।

सुझावित समाचार