पहिरोले चार परिवार विस्थापित, दुई घर जोखिममा

बिहिबार, १७ साउन, २०८१
डिजिटल संस्करण

लगातारको वर्षाका कारण घरमाथिबाट खसेको पहिरोका कारण रामेछापमा चार घरपरिवार विस्थापित भएका छन्। लिखुतामाकोशी गाउँपालिका– ५ नागदहस्थित भालुखोपमा चार घरपरिवार पहिरोका कारण विस्थापित भएका हुन्।

पहिरोले मेखबहादुर बुढाथोकी, गंगामाया बुढाथोकी, बाबुराम बुढाथोकी र धुम्ममाया बुढाथोकीको घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। घरमा पहिरोले क्षति पुर्याएपछि ती चार परिवारका १२ जनालाई स्थानीयको सहयोगमा स्थानीय मालिका आधारभूत विद्यालयमा बस्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए।

लिखुतामाकोशी– ५ भालुखोपकै मानबहादुर बुढाथोकीको घर जोखिममा परेको छ। पहिरोले घरनजिकै रहेको गोठ पुरिँदा एउटा भैँसी मरेको छ । त्यसैगरी बुधबार रातिको वर्षाले मन्थली नगरपालिका– २ बिरौटैस्थित कठजोर खोलामा आएको बाढीले जमिन कटान गर्दा स्थानीय एकबहादुर भुजेलको घर पनि जोखिममा परेको प्रहरीले जनाएको छ।

सुझावित समाचार